spot_img

कक्षा १० नेपाली शत्रु कथा(प्रश्‍नोत्तर)

छोटो प्रश्‍नोत्तर

(क) शत्रु कथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो ?

उत्तरः कृष्ण राय भद्र र शान्त स्वभावका मानिस थिए । गाउँ समाजमा न्यायनिसाफ गर्न उनी नै अघि सर्दथे । मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने कृष्ण रायले सबैलाई बराबरी न्याय दिन कोसिस गर्थे । आफ्नो स्वभाव तथा व्यवहारले आफूलाई शत्रुरहित ठाने पनि अचानक भएको आक्रमणपछि मनमा द्वन्द्व उत्पन्‍न भयो । उनी आफ्नै दाजुभाइहरू, भतिजो सबैलाई शत्रु ठान्‍न पुगे । यसरी उनलाई एउटा शान्त, जान्‍ने छु भन्‍ने ठान्‍ने, शङ्‍कालु, अन्तर्मुखी र कमजोर मानसिकता भएका व्यक्तित्वका रुपमा चिन्‍न सकिन्छ ।

(ख) कृष्ण रायले किन आफूलाई शत्रुविहीन ठान्थे, वर्णन गर्नुहोस् ।

उत्तरः कृष्ण राय भद्र र शान्त स्वभावका मानिस थिए । उनी आँखामा राखे पनि नबिझाउने व्यक्ति थिए । उनलाई मानसम्मान, धन सम्पत्ति आदि सबैको सुख थियो । गाउँ समाजमा न्याय निसाफ गर्न उनी नै अघि सर्दथे । मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने कृष्ण राय आफूलाई आदर्शवान् व्यक्ति ठान्दथे । गाउँलेहरु सबैले आफ्नो सम्मान गर्ने ठान्दथे । उनले कसैलाई ठगेका वा दुःख दिएका थिएनन् । यस्तै कारणले उनले आफूलाई शत्रुविहीन ठानेका होलान् ।

(ग) यस कथाबाट के सन्देश पाइन्छ ?

उत्तरः मान्छे शत्रुविहीन हुन सक्दैन । मान्छेले आफूलाई जति अजात शत्रु ठाने पनि कुनै न कुनै किसिमले उसका शत्रु भैहाल्छन् । शत्रु नहोलान् भन्ने ठान्‍नु, आफूलाई खुब जान्‍ने सुन्‍ने छु भन्‍ने ठान्‍नु एउटा भ्रम मात्र हो । हामीमा महसुस नगरेका धेरै कमजोरीहरु हुन सक्छन्। त्यसैले मानिस हर कदममा चनाखो हुनुपर्छ । मान्छेको मन परिवर्तन हुनलाई एउटा सानो घटना नै पर्याप्‍त हुन्छ । हामी एउटा घटनालाई लिएर कमजोर भएर बस्नु हुँदैन । अनावश्यक शङ्‍का गर्ने मानिसले कसैलाई मित्र देख्दैन । मनमा शान्ति आनन्द हुँदा संसार सुन्दर लाग्दछ भने मानसिक स्थिति खल्बलिँदा आज संसार अर्कै लाग्दछ । समग्रमा हाम्रो काम व्यवहारले सबै पक्षलाई खुसी बनाउन सकिँदैन भन्‍ने मर्मको उद्घाटन गर्नु नै कथाको मुख्य सन्देश हो ।

(घ) प्रत्येक व्यक्तिका कृष्ण रायका जस्तै नदेखिने शत्रु होलान् त, कथाका आधारमा अनुमान गर्नुहोस् ।

उत्तरः कथाले मान्छे शत्रुविहीन हुन सक्दैन भन्ने रहस्य प्रस्तुत गरेको छ । यस आधारमा पनि प्रत्येक व्यक्तिका नदेखिने शत्रु हुन् सक्छन् । कृष्ण रायले जस्तै आफूलाई जतिसुकै जान्‍ने सुन्‍ने छु भने पनि हामीहरुमा धेरै कमजोरी हुन सक्छन् । हुनत शत्रु मित्र बन्‍नुमा केही कारण अवश्य हुन्छ । शत्रु र मित्र भन्‍ने कुरा मानिसको शील, स्वभाव र आचरणमा भर पर्दछ । यसरी शत्रु कम बढी त हुन सक्लान् तर शत्रु नहोलान् भन्‍ने कुरामा भने विश्वास गर्न सकिन्‍न । गुणी र विवेकीले समय परिस्थिति हेरेर व्यवहार गर्दछ भने उसका अवश्य धेरै मित्रहरु हुन्छन् ।

 

 व्याख्या गर्नुहोस् :

(क) कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन ।

उत्तरः प्रस्तुत कथांश विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु शीर्षकको मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो । कृष्ण रायमाथि लठ्‍ठी प्रहार भइसकेपछि मध्यस्थ भएर झगडा मिलाउँदा हार्ने व्यक्ति आफ्नो समर्थक नभएर शत्रु भएको हुन सक्ने भन्‍ने सन्दर्भमा यो कथांश आएको हो ।

कृष्ण राय भद्र र शान्त स्वभावका मानिस थिए । गाउँ समाजमा न्यायनिसाफ गर्न उनी नै अघि सर्दथे । मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने कृष्ण रायले सबैलाई बराबरी न्याय दिन कोसिस गर्थे । आफ्नो स्वभाव तथा व्यवहारले आफूलाई शत्रुरहित ठान्थे । उनीमाथि अचानक भएको आक्रमणपछि मनमा द्वन्द्व उत्पन्‍न भयो । उनले आफ्ना कार्यको बारेमा समीक्षा गर्न थाले । आफू मध्यस्थ भएर गरेका न्यायमा सधैँ एकपक्ष खुसी भए पनि अर्को पक्ष शत्रु बनेको सम्झे । आफूमाथि लठ्‍ठी प्रहार भइसकेपछि आफ्ना धेरै शत्रु भएका हुन सक्ने अनुमान लगाए । उनले आफूसँग आएका अन्य मान्छेको पनि सूची बनाए अनि मान्छे शत्रुविहीन हुँदैन भन्‍ने निष्कर्षमा पुगे । बिनाकारण संसारमा शत्रु बन्दैन । शत्रु मित्र बन्नुमा केही कारण अवश्य हुन्छ । त्यसमा पनि कृष्ण राय त मध्यस्थकर्ता थिए । मध्यस्थकर्ता भनेको यस्तो कार्य हो जसमा मध्यस्थले एउटा न एउटाको शत्रु हुनै पर्छ ।

यसरी कृष्ण रायले आफुले निष्पक्ष रहेर गर्ने ठानेको मध्यस्थताको अर्थ बुझेका छन् र यस क्रममा उनको मानसिकतामा परेको उतारचढावलाई कथांशमा प्रस्तुत गरिएको छ ।

 (ख) कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ।

उत्तरःव्याख्याका लागि दिइएको कथांश शत्रु कथाबाट लिइएको हो । विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु कथा एउटा मनोवैज्ञानिक कथा हो । कृष्ण रायले आफूमाथि आक्रमण भएपछि आफ्ना विगतका कार्य सम्झेर निकालेको निष्कर्षको रूपमा प्रस्तुत कथांश आएको हो ।

कृष्ण राय गाउँ समाजमा न्यायनिसाफ गर्न अघि सर्दथे । मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने उनले आफूलाई आदर्शवान् व्यक्ति ठान्दथे । गाउँलेहरु सबैले आफ्नो सम्मान गर्ने ठान्दथे । उनले कसैलाई ठगेका वा दुःख दिएका थिएनन् । मध्यस्थ गरेर गाउँलेलाई ठुलो गुन लगाएको ठान्दथे । आफू निर्दोष रहेको सम्झेर गर्व गर्थे । आफ्नो कामले कसैको चित्त दुखेको पत्तो पाउन सकेका थिएनन्। झाडीमा लुकेको विषालु सर्पलाई सजिलै देख्न सकिँदैन र एक्कासि आक्रमण गरेपछि मात्र सर्प रहेछ भन्‍ने थाहा हुन्छ। त्यसैगरी हामीले गरेका कुन कार्यले कहिले शत्रु जन्माएको हुन्छ र त्यो शत्रु कुन मौकाको पर्खाइमा लुकेर बसेको हुन्छ भनेर थाहा नै पाउन सकिँदैन । आफूलाई परेपछि बल्‍ल थाहा हुन्छ । कृष्ण रायले निर्दोष नै ठानेका थिए, सबैलाई आफ्ना मित्र ठानेका थिए तर अन्तिममा उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई बैरी मान्‍नुपर्ने अवस्था सिर्जना भयो ।

यसरी प्रस्तुत कथांशमा जति निर्दोष रहन खोजे पनि नजानिँदो किसिमले शत्रु बनिरहेका हुन सक्छन् भन्‍ने कुरामा सचेत गराउन खोजिएको छ।

 शत्रु कथाका कृष्ण रायमाथि लठ्‍ठी प्रहार भएपछि पनि उनले किन शत्रु किटान गर्न सकेनन्, तर्क दिएर पुष्‍टि गर्नुहोस् ।

उत्तरःविश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु कथा एउटा मनोवैज्ञानिक कथा हो । यस कथामा मुख्य पात्र कृष्ण रायमाथि भएको घटना र सोही घटनाकै कारण उनको मानसिकतामा आएको उथलपुथललाई समेटिएको छ।

कृष्ण राय गाउँका भद्र र शान्त स्वभावका मानिस थिए । गाउँ समाजमा न्यायनिसाफ गर्न उनी नै अघि सर्दथे । ४५ वर्षका कृष्ण रायका सन्तान थिएनन् तर उनले एउटा टाढाको भतिजोलाई धर्म पुत्रका रूपमा पालेका थिए । उनको आर्थिक स्थिति राम्रो थियो। कसैलाई पनि पीर पारेर सम्पत्तिको आर्जन गरेका थिएनन् । उनलाई सबै कुराको सन्तोष थियो । आफ्ना कुनै शत्रु छैनन् भनेर उनी ढुक्क थिए । आफूले कसैलाई दुःख नदिएकोले निर्दोष ठान्थे । आफूमाथि भएको लठ्‍ठी लट्ठी प्रहारले उनको विश्वास टुटेको छ। उनी मानसिक रुपमा विक्षिप्‍त भएका छन्। उनले आफूले गरेको निर्णय र कार्यको समीक्षा गरे । सम्पर्कमा आउने लगभग सबै व्यक्तिमाथि शङ्‍का गरे । शत्रुविहीन ठानेका रायलाई आफ्ना कार्यहरू सम्झँदा कुनै न कुनै समयमा धेरैको चित्त दुखाएको जस्तो लाग्यो ।

हामीमा महसुस नगरेका धेरै कमजोरीहरु हुन सक्छन् । मान्छेले आफूलाई जति अजात शत्रु ठाने पनि कुनै न कुनै किसिमले उसका शत्रु भैहाल्छन्। कृष्ण रायले आफू मध्यस्थ हुँदा एकपक्ष खुसी भए पनि अर्को पक्ष असन्तुष्ट हुन सक्ने रहस्य बुझेनन् । त्यस्तै शत्रु नहोलान् भन्ने ठान्नु, आफूलाई खुब जान्‍नेसुन्‍ने छु भन्ने ठान्‍नु एउटा भ्रम मात्र हो । कृष्ण राय यही भ्रममा थिए,जसको कारणले उनले शत्रु किटान गर्न सकेनन् ।

कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई शत्रु कथाका आधारमा समीक्षा गर्नुहोस्।

उत्तरः प्रथम मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु कथा मनोवैज्ञानिक कथा हो । यस कथाले सामाजिक तथा मनोवैज्ञानिक समस्यालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । त्यसैले यो समस्यामूलक कथा हो । कथाले मान्छे शत्रुविहीन हुन सक्दैन भन्‍ने रहस्य प्रस्तुत गरेको छ। आफूलाई शत्रुविहीन ठान्‍ने कृष्ण रायमाथि लठ्‍ठी  प्रहार भएको घटनापछि उनको मनमा उब्जिएका उतारचढावलाई कथामा प्रस्तुत गरिएको छ ।

कृष्ण राय यस कथाका केन्द्रीय पात्र हुन् । भद्र र शान्त स्वभावका मानिने उनी मध्यस्थकर्ता बनी गाउँ समाजमा न्यायनिसाफ गर्न अघि सर्दथे । आफ्नो स्वभाव तथा व्यवहारले आफूलाई शत्रुरहित ठान्थे । आफूलाई बडो जान्‍नेसुन्‍ने छु भन्‍ने ठान्दथे । गाउँलेहरुको इज्जत सम्मान पाएर मक्ख थिए । उनमा प्रशस्त आविश्वास थियो । उनको यस्तो विरासत धेरै टिक्न सकेन । जब उनीमाथि अचानक आक्रमण भयो, त्यसपछि उनको सबै चैन गायब भयो । उनको मनमा द्वन्द्व उत्पन्‍न भयो । आफूमाथि कसले आक्रमण गरे होला भनेर धेरै सोचमा पुगे तर किटान गर्न सकेनन्। आफूमाथि भएको लठ्‍ठी  प्रहारले उनको मनभित्र मनोवैज्ञानिक हुरी चलाइदियो । शङ्‍का, चिन्ता, तनाव, तर्कले उनको शान्त मनमा डेरा जमाउन पुग्यो। त्यसपछि उनले आफ्ना नजिकका सम्पर्कमा भएका मानिसदेखि लिएर सामान्य बोलचाल भएका मान्छेसम्म सबैलाई शङ्‍काका दृष्‍टिले हेर्न पुगे । आफूसँग जोडिएका हरेक घटनामा शत्रुताको सम्बन्ध रहेको कल्पनाले उनको मन नराम्ररी पिरोलिएको छ।

जीवन यात्रालाई अघि बढाउदै जाँदा व्यक्तिले राम्रा र नराम्रा काम गरेको हुन्छ । यिनै कामले मित्र र शत्रु पनि जन्माउँछ । कृष्ण रायको निस्वार्थ सेवा, न्यायको पक्षधर विचार जस्ता कामले पनि शत्रुता जन्माउन सक्ने प्राकृतिक यथार्थतालाई कथामा व्यक्त गरिएको छ । मानिसले मनमा शान्ति र आनन्द हुँदा संसार सुन्दर देख्दछ भने मानसिक स्थिति खल्बलिँदा आज संसार अर्कै लाग्‍ने मनोवैज्ञानिक यथार्थलाई कथामा देखाइएको छ। कृष्ण रायमाथि लठ्‍ठी  प्रहार नहुँदासम्म उनलाई आफ्नो कोही शत्रु नभए झैँ लाग्छ भने लठ्‍ठी प्रहारपछि हरेक व्यक्ति शत्रु भए झैँ लाग्छ। यसरी कथामा शङ्‍कालु, अन्तर्मुखी र कमजोर मानसिकता भएका कृष्ण रायको मनको चिरफार कुशल ढङ्‍गले गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

अन्य पोष्टहरु

spot_img
spot_img

Contact

Hemanta Parajuli

Teacher

Follow Us

Page View

website counter

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Video