spot_img

नेपाली हाम्रो श्रम र सिप (कविता)

कवि मुकुन्दशरण उपाध्याय र उनको ‘नेपाली हामो श्रम र सिप’ कविता
कवि परिचय

कास्कीको पोखरा- २५, हेमजामा वि. सं. १९९७ वैशाख ५ गते जन्मेका मुकुन्दशरण उपाध्याय नेपाली भाषा, व्याकरण र साहित्यका त्रिवेणी हुन्। माता केशरकुमारी र पिता दशरथ उपाध्यायका सुपुत्र मुकुन्दशरणले संस्कृतमा साहित्याचार्य र नेपालीमा एम. ए. सम्मको अध्ययन पूरा गरेका छन् । उनले लामो समय प्राध्यापन सेवामा बिताए । उनी भाषामा देखिएका विकृति अन्त्यका लागि भन्दै नेपाली भाषाको विश्वव्यापी एकता अभियानमा क्रियाशील छन् ।
उपाध्यायको ‘प्राकृत पोखरा’ नामक खण्डकाव्यले २०२१ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। यसबाहेक उनका ‘नारायणकवच’ (२०१५), ‘निम्बार्क चरितम्’ (संस्कृत, खण्डकाव्य २०१६), ‘वरदान’ (उपन्यास २०१७), ‘महेन्द्रालङ्कार’ (काव्यशास्त्र २०१८), ‘शरणागतिशतकम्’ (२०१८) ‘केलादी घाट’ (तीर्थ परिचय, २०२२), ‘महाभारत सूक्तिसुधा’ (सूक्ति सङ्ग्रह २०२६), ‘धर्ती र आकाश’ (कविता सङ्ग्रह, २०३४) ‘शैल सरिता’ (संस्कृत कविता सङ्ग्रह, २०३४), ‘प्रस्तावना र विवेचना’ (व्याकरण, २०४३), ‘सरल नेपाली : शुद्ध नेपाली’ (२०४५), ‘अक्षर प्रज्ञा’ (वर्णविन्यास विज्ञान र व्याकरण २०४७), ‘पद्य-प्रभा’ (पद्य भाषाको हिज्जे व्याकरण २०६४), ‘व्याकरण चिन्तन’ (२०६८) आदि कृतिहरू प्रकाशित छन् । उनको ‘झगडाको ओखती’ बालकथा निकै चर्चित छ । उनले कथा, उपन्यास, कविता, समालोचनालगायत विविध विधामा कलम चलाएका छन् ।
कलिलै उमेरमा मदन पुरस्कार प्राप्त गरेपछि थप चर्चा बटुलेका उपाध्यायले यसअघि नै वि. सं. २०१६ मा ‘निम्बार्क चरितम्’ का लागि अखिल भारतीय संस्कृत पुरस्कार प्राप्त गरेका थिए। यसै गरी, गुणराज पुरस्कार (२०४७), लेखनाथ साहित्य पुरस्कार (२०७२), महाकवि देवकोटा पदक, शिरोमणि सम्मान, पाणिनी पुरस्कारलगायत दर्जनौं सम्मान तथा पुरस्कारहरू उनले प्राप्त गरेका छन् । उनी २०३५ मा नेपाल (राजकीय) प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका थिए।
काव्यगत प्रवृत्ति
मूलतः शास्त्रीय छन्दमा कविता लेख्न रुचाउने मुकुन्दशरण उपाध्याय लोक छन्दमा पनि कलम चलाउने गर्दछन्। उनका कवितामा संस्कृत भाषाको विशेष प्रभाव पाइने मात्र होइन, संस्कृत भाषाकै कविता सङ्ग्रहसमेत उनले प्रकाशन गरेका छन् । मानवतावादी कवि उपाध्यायले प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पौराणिक विषयवस्तुलाई आफ्ना कवितामा समेटेका छन् । फुटकर कवितादेखि महाकाव्यसम्म लेखेका उनी देशभक्त, संस्कृतिप्रेमी र आध्यात्मिक चिन्तन बोकेका कवि हुन्। उनका काव्य प्रवृत्तिहरूलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ :
 राष्ट्रप्रेमको भावनाले ओतप्रोत हुनु
 मानवता, प्रकृति र संस्कृतिलाई कविताको विषयवस्तु बनाउनु
 नैतिक सन्देश र आदर्श भावना पाइनु
 आध्यात्मिक चिन्तन पाइनु
 सामाजिक विकृतिको विरोध गर्नु
 युवाहरू देशमै बसेर देशको उन्नतिमा लाग्नुपर्नेमा जोड
 लोक जीवन र लोक लयको मिश्रण गरी कविता लेख्न सिपालु
 शास्त्रीय छन्दमा सरल कविता लेख्नु

कविता परिचय
लोक छन्दअन्तर्गत झ्याउरे छन्दमा रचित ‘नेपाली हाम्रो श्रम र सिप’ कविताका कवि मुकुन्दशरण उपाध्याय हुन् । जम्मा ६ श्लोक रहेको यस कवितामा ३-२, ३-२, ३-३ को संरचना रहेको छ । कविताको प्रत्येक पङ्क्तिमा १६ अक्षर छन् । सबै मिलेर देशको उन्नतिमा लाग्नुपर्ने सन्देश कविले दिएका छन् । हाम्रा श्रम र सिप स्वदेशमै लगाउनुपर्नेमा जोड दिँदै कविले हीनता, आलस्य र निराशा त्यागेर अघि बढ्ने हो भने नेपाल संसारकै सबैभन्दा विकसित देश बन्न सक्ने सम्भावना उजागर गरेका छन् । ‘नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ’ भन्ने पङ्क्ति पहिलो, दोस्रो र अन्तिम श्लोकमा प्रयोग गरिनुले यस कविताको शीर्षक सार्थकता पनि पुष्टि हुन्छ । कवितामा आफूसँग भएको श्रम र सिप आफ्नै देशको भलाइका लागि प्रयोग गर्नुपर्ने कुरामा जोड दिइएको हुनाले शीर्षक र भावको समेत तालमेल रहेको देखिन्छ । नेपाली संस्कृति, प्रकृति र अग्रजहरूको महिमागान गर्दै कविले श्रम र सिपको सदुपयोग स्वदेशमै गरी समृद्ध नेपाल निर्माणमा लाग्न आम नेपालीसमक्ष आह्वान गरेका छन्।
कविताको भावार्थ
कवि मुकुन्दशरण उपाध्यायले नेपालको अस्तित्व रहे मात्रै नेपाली जनता र समग्र नेपाली गौरवको अस्तित्व रहने सत्यको प्रस्तुति कवितामार्फत गरेका छन् । नेपाल बाँचे मात्रै नेपाली र नेपाली गौरव बाँच्ने अभिव्यक्ति दिँदै कविले नेपालको चौतर्फी विकासका लागि सम्पूर्ण नेपालीले एकजुट भई नेपाली माटोमा पसिना बगाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली बाँच्ने आधार नेपाल नै हो। नेपालै नरहे नेपाली रहँदैन; नेपालको गौरव रहँदैन । नेपाली भाषा, साहित्य, कला, संस्कृति बाँच्नका लागि पनि सर्वप्रथम नेपाल रहनुपर्छ; देश रहनुपर्छ। हाम्रो पहिचान र अस्तित्व देशसँग जोडिएको हुनाले कविले देशलाई बलियो बनाउन आह्वान गरेका छन् । देशलाई बलियो बनाउने आधारका रूपमा सबै नेपालीको श्रम र सिपलाई स्वदेशमै प्रयोग गर्नुपर्ने आवश्यकता कविले औँल्याएका छन् ।
नेपालीहरू आपसी भाइचारामा रमाउँछन्। मेलापात, अर्मपर्म गरी जीवन चलाउने नेपालीहरू आफू मात्र अघाएर सन्तोष मान्दैनन्, छिमेकी, आफन्त पनि अघाउनुपर्ने मान्यता राख्दछन् । कोही एक जना नेपाली भोको रहँदा पनि सिङ्गो नेपाल नै भोको रहने कविको विचार छ । आफूले गरेको उत्पादनले अरू मानिसका भोक पनि मेट्नुपर्ने मान्यता नेपालीहरूको छ। त्यसै गरी जिउ ढाक्नका लागि सबैको हरमा एक धरो लुगा हुनुपर्छ । कोही एक जना नेपालीले लुगा लगाउन नपाउँदा ऊ मात्र नाङ्गो रहँदैन; सारा नेपाली नाङ्गा रहन्छन् । खाना र नाना जस्ता आधारभूत आवश्यकता सबै नेपालीको पूरा होस् भन्ने चाहना कविको छ ।
नेपाल सम्भावनाहरूको भण्डार पनि हो। यहाँको माटाको उर्वराशक्ति अनुपम छ । हिमाल, पहाड र तराई सबैतिर मिहिनेत गरेर नेपाललाई भूस्वर्ग तुल्याउन सकिन्छ । यसका लागि परिश्रमको खाँचो छ । पसिनाले माटो भिजाउने हो भने पहाड स्वर्गतुल्य हुने कविको विचार छ । तराई नेपालको अन्न भण्डार हो । अझै उचित सिँचाइको व्यवस्था गर्न सक्ने हो भने यहाँ सुन फल्न सक्छ । होस्टेमा हैंसे गर्दै चोखो श्रम, सिप लगानी गर्ने हो भने पहाडलाई स्वर्ग झैँ बनाउन र तराईमा सुन फलाउन समय नलाग्ने कविको मत छ ।
नेपाल सभ्यताको पनि जननी हो । मानव सभ्यताको सुरुवातकालीन समयमै नेपालले विज्ञान, प्रविधिको विकास गरेको थियो। हाम्रा पौराणिक ग्रन्थहरूमा पनि पुष्पक विमानको उल्लेख हुनुले नेपालमा आदिकालमै विज्ञानको विकास भएको तथ्य दर्साउँछ । हाम्रा जुनसुकै धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार पनि मानिस र देवता मिलेर वेदका ऋचाहरूलाई मन्त्रका रूपमा अङ्गीकार गरेको पाइन्छ । अर्कोतिर, धार्मिक/सांस्कृतिक विविधताका बाबजुद पनि आपसी सहिष्णुता नेपालको एक महत्त्वपूर्ण विशेषता हो। किराती संस्कृतिको मुन्धुम होस् वा बुद्ध धर्मको धम्मपद, हिन्दु धर्मका वेद/वेदान्त हुन् वा इस्लाम धर्मको कुरान अथवा क्रिश्चियन धर्मको बाइबल नै किन नहोस्, कुनै पनि आधारमा भेदभावको भावना नेपालमा छैन; ती सबै हाम्रा सम्पदा हुन् । यस्तो सुसंस्कार भएको महान् देश विश्वमै अर्को नभएको भाव कवितामा पाइन्छ ।
पूर्वीय भाषा, साहित्य परम्परा विश्वकै लागि अमूल्य सम्पदा हुन्। महाभारत, रामायण वा अन्य संस्कृतका महान् कृतिहरूमा वर्णित रहस्यमय कथावस्तुको सन्धान जति गरे पनि कम हुन्छ । विश्वकै शिरपोस बनेर ठडिएको सगरमाथाको गौरवगान अवर्णनीय छ । यो विश्वकै सर्वोच्च हिमाल हो । यसले हाम्रो गरिमा विश्वस्तरमा पुऱ्याएको छ। ऋषिमुनिहरूको तपोभूमि पनि नेपाल नै हो। कैलाश पर्वत भनिने हाम्रा हिमालमा साधना गरेर कैयाँ ऋषिहरू ज्ञानी भएको किंवदन्ती छ । हाम्रा ती सबै पुर्खाप्रति कविले सम्मानभाव प्रकट गरेका छन् । तिनीहरूको साधनाबाट ज्ञान लिनुपर्नेतर्फ सङ्केत गर्दै कविले उनीहरूप्रति कृतज्ञ रहनुपर्ने सन्देश दिएका छन् ।
नेपाल आमाको काख आफैँमा देदीप्यमान छ । आमाको महानता नेपाल आमाको मुहारमै झल्किन्छ । हाम्रा अग्रजहरूले आभामय बनाएको यो धर्तीको चमक अझै कसरी उँचो बनाउने भन्ने चिन्तन कविले प्रस्तुत गरेका छन् । हाम्रो गौरव बचाइराख्नका लागि नेपालीहरूमा विभिन्न कारणले देखिएका आलस्य, निराशा र निद्रालाई भगाउनुपर्ने धारणा कविको छ । समस्याहरूसँग भागेर होइन, तिनीहरूको सामना गर्दै अघि बढे मात्र समृद्धि सम्भव छ। सारा नेपालीलाई श्रम संस्कृतिमा लाग्ने आशिष् प्रदान गर्न कविले नेपाल आमासँग आग्रह गरेका छन् । सबैले स्वदेशमै श्रम र सिप प्रयोग गर्न पसिना बगाउनुपर्ने राय कविको छ।
यस कविताको मूल भाव देशप्रेम हो । आफूसँग भएको श्रम र सिप स्वदेशमै लगानी गर्नुपर्ने विचारमा कवि प्रतिबद्ध देखिन्छन् । देशमा भएका समस्यासँग डराएर नभई तिनीहरूसँग जुधेर देशको उन्नतिमा लाग्न खुला आह्वान कविले गरेका छन् । हामीसँग सबै थोक छन्, तिनलाई मूल्यवान् तुल्याउन इतिहासबाट ज्ञान लिँदै वर्तमानमा पसिना बगाउनुपर्ने भाव कवितामा पाइन्छ । प्रकृति र संस्कृतिप्रतिको प्रेम तथा अग्रजहरूप्रतिको सम्मान कवितामा प्रकट भएको छ। कविता नेपाली जनजिब्रोको लय अर्थात् लोक लयमा रहेको छ।
भाषाशैली
कविता सरल भाषाशैलीमा संरचित छ । सुबोध्य र सुललित बहाव रहेको कवितामा जनजिब्रोकै शब्दहरूको प्रयोग गरिएको छ। स्वाभाविक प्रकृतिका शब्द बुनाइले कविता थप सम्प्रेष्य बनेको छ। पठनबोधका दृष्टिले पनि कविता सरल छ । कवितामा प्रयुक्त ‘पूर्वले दियो विश्वकै निम्ति रहस्य विशाल’ जस्ता प्रतीकात्मक वाक्य / वाक्यांशले कविता कलामा निखार ल्याएको पाइन्छ। अधिकांश तद्भव शब्दकै प्रयोग गरिएको कवितामा केही तत्सम शब्दहरू प्रयोग गरिए पनि तिनले जटिलता भने सिर्जना गरेको पाइँदैन। पद्य शैलीमा लोक छन्दको प्रयोग गरी लेखिएको यस कविता लयात्मक र गेयात्मक हुनु यसको विशेषता हो ।
स्रोतः कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्‍यक्‍ति( क्‍वेस्ट पब्लिकेशन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

अन्य पोष्टहरु

spot_img
spot_img

Contact

Hemanta Parajuli

Teacher

Follow Us

Page View

website counter

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Video