spot_img

उ‍ज्‍यालो यात्रा(एसइइ परीक्षाको लागि)

उ‍ज्‍यालो यात्रा कविताबाट प्रश्‍नोत्तर(एसइइ परीक्षाको लागि)

समिक्षात्‍मक उत्तर
‘उज्यालो यात्रा’ कविताको तलको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् ।
उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
यस्तो आदर्श यात्रामा कहिले चलूँला नि म ?
चन्द्रसूर्य बनी आफैँ कहिले बलुँला नि म ?
आफ्नै पौरखले बाटो कहिले खनुला नि म ?
सर्वोच्च कविता आफैँ कहिले बनुँला नि म ?
प्रश्न
हामी कस्तो मान्छे बन्‍न सक्नुपर्छ ? ‘उज्यालो यात्रा’ कविताको माथिको कवितांशलाई समेत आधार बनाएर समीक्षा गर्नुहोस् ।
उत्तरः प्रश्नको सन्दर्भका निम्ति दिइएका श्लोकहरू ‘उज्यालो यात्रा’ को कवितासँग सम्बन्धित छन् । ‘उज्यालो यात्रा’ कविता कवि रामप्रसाद ज्ञवालीद्वारा लेखिएको हो । कवि ज्ञवाली नेपाली साहित्यमा छन्द कविका रूपमा चिनिन्छन् । कवितामा समसामायिक विषय तथा नैतिकताको सन्देश दिनु उनको विशेषता हो। ‘उज्यालो यात्रा’ कवितामा कवि ज्ञवालीले मान्छेले आफूभित्रका नराम्रा भावहरूको त्याग गरी असल भावना विकास गर्ने प्रेरणाका
साथै कर्मशील बन्‍ने सन्देश दिएका छन् ।
उज्यालो यात्रा कवितामा कविले मान्छेले कर्मशील बन्‍न अनेक कार्यहरू गर्न सक्ने कुरा बताएका छन् । जो राम्रो ज्ञान पाएर धर्तीलाई मनोहर पार्दछन् तिनीहरूले आफूलाई कर्मशील बनाउन सक्छन् । मान्छेले गर्ने राम्रो कर्ममा अथाह शक्ति लुकेको हुन्छ । कर्मकै कारण मरूभूमिलाई पनि उत्पादनशील बनाउन सकिन्छ । कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्‍नु भन्‍ने भाव माथिका श्लोकमा आएको छ । कर्मले नै जिन्दगीलाई हसिलो र सुखी बनाउन सकिन्छ । हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना गर्न सक्छ । हामीले कर्मशील जीवन बनाउनु आवश्यक छ । विश्वमा नै आदर्श र नमुना बन्‍नका लागि कर्म गर्नुपर्ने वा कर्मशील भएर आफ्नो पौरखले आफ्नो बाटो तय गर्नुपर्ने चिन्तन भएको छ । मानिसभित्र उच्च सङ्‍कल्प हुनुपर्छ । सङ्‍कल्पका कारणले असम्भव र असजिला ठानिएका कामहरू पनि सम्भव र सजिला बन्‍न सक्छन् । मानिसले आफ्नो उद्देश्य पूरा गर्न अठोट लिएमा ऊ कर्मशील बन्‍न सक्छ । अठोटका कारणले संसारमा चिनिएका महान् मान्छेहरू सफल भएका हुन् त्यसैले हामीले पनि अठोटका साथ कर्मपथमा अघि बढ्नु जरूरी छ । मानिसले आफ्नो जीवनलाई उच्च कार्यका निम्ति अघि बढाए ऊ कर्मशील बन्छ । ज्ञानप्राप्‍त गरी पृथ्वीलाई सुन्दर बनाउन अघि बढियो भने पनि कर्मशील बन्‍न सकिन्छ । महान् काम गरी संसारका लागि आदर्श जो बन्‍न सक्दछन् तिनीहरू नै कर्मशील हुन्छन् । त्यसैले हामी पनि कर्मशील बन्‍नका लागि उदात्त कर्म गर्ने बाटोमा लाग्‍नुपर्दछ ।
‘उज्यालो यात्रा’ कविता पद्यशैली तथा सरल नेपाली भाषाको माध्यमबाट लेखिएको छ । आठ अक्षरको एक पाउ हुने चार पाउको एक श्लोक हुने अनुष्‍टुप छन्दको माध्यमबाट रचना गरिएको कवितामा मान्छेले कर्मशील बन्‍ने प्रेरणा पाउँछ । पटक पटक अभ्यास गरेर, दृढ सङ्‍कल्प लिएर मान्छेको जीवनलाई सहज बनाउने कर्म गरेर, ज्ञान सिकेर र आदर्श बन्‍न उच्च कर्म गरेर हामी कर्मशील बन्‍न सक्नुपर्छ भन्‍ने तर्फ कविताले सङ्‍केत गरेको छन् । कविताका अनुसार हामी उदात्त, कर्मशील, उदाहरणीय मान्छे बन्‍नुपर्छ । हामी आदर्श बाटोमा हिँड्ने, चन्द्रसूर्य जस्तै चहकिला, पौरखी र आत्मनिर्भर बन्‍न सक्नुपर्छ ।

भाव विस्तार /व्याख्‍या
आफ्नै पौरखले बाटो कहिले खनुला नि म ?
सर्वोच्च कविता आफैँ कहिले बनूँला नि म ?

उत्तरः “आफ्नै पौरखले ……………………………….
………………………………………… बनूँला नि म ?”
माथिको पद्यांश छन्द कविताका सशक्त कवि रामप्रसाद ज्ञवालीद्वारा लिखित ‘उज्यालो यात्रा’ कविताबाट साभार गरिएको हो । उज्यालो यात्रा कविता ज्ञवालीको नैतिक चेतनाले ओतप्रोत कविता हो । यो कविता कक्षा १० को अनिवार्य नेपाली पुस्तकमा समाविष्‍ट छ । कवितामा परिश्रमको चर्चा गर्दै परिश्रमले मानिस सफलताको बाटोमा अग्रसर हुने कुरा गरिएको छ त्यो जसले परिश्रम र पसिनाको मूल्य बुझ्ने मानिस सर्वोच्च शिखरमा पुग्‍न सक्ने वा सफलताको उच्चतम बिन्दुमा पुग्‍ने सङ्‍केत कवितांशले गरेको छ ।
परिश्रम गर्नु र मेहनती बन्‍नु नै कर्मशीलता हो । कर्मले नै मानिसका सम्भावनाका ढोकाहरू खुल्ने भएकोले हामीले मनमा उच्च सङ्‍कल्प लिएर अगाडि बढ्नुपर्छ । परनिर्भरता त्यागेर आत्मनिर्भर हुने हो भने अल्छी नबनेर निरन्तर कर्ममा लाग्‍नुपर्छ । हाम्रो ज्ञान परोपकारमा खर्चनुपर्छ । आफ्नै पौरखले असल बाटो निर्माण गरेर देशको लागि सुनौलो नाम राख्नुपर्छ । अन्याय, अत्याचार, शोषण सहेर बस्ने कार्य गर्नुहुँदैन र यस्ता कार्य अरूलाई पनि गर्न दिनुहुँदैन । सधैं आदर्श मान्छे बन्‍ने लक्ष्य राखेर महान् कार्य गर्नतिर तल्‍लिन हुनुपर्छ । जस्तोसुकै अवस्थामा पनि हामी चन्द्रसूर्य जस्तो भएर अगाडि बढेमा हामीले आफ्नो बाटो आफैँ खनेर वा आफ्नो भविष्यको बाटो आफैँ कोरेर सगरमाथा जस्तै अटल हुन सकिने कुरा माथिको पद्यांशले गरेको छ । कविको म पात्रलाई आफ्ना निम्ति पौरख गर्ने स्वाभिमानी बन्‍ने रहर छ त्यसैले उनी आफ्नो स्वाभिमानी भविष्यको बाटो अहिलेदेखि नै खन्‍न र निखन्‍न चाहन्छन् । उच्च भावनाले ओतप्रोत कविता जस्तै शान्त र मधुर बन्‍ने म पात्रको रहर कवितांशमा व्यक्त भएको छ ।
यसरी मिठासपूर्ण पद्य भाषाशैलीको प्रयोग गरी अनुष्‍टुप छन्दमा लेखिएको उक्त कवितांशले मानिस असल कर्म गरेर अगाडि बढ्ने हो भने आफ्नो भविष्यको बाटो आजै कोर्न सकिने विचार प्रस्तुत गरेको छ । कवितांशमा आफू आत्मनिर्भर बनेर जिन्दगीको बाटो आफ्नै पौरखले खन्‍नुपर्ने सन्देश अभिव्यक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

अन्य पोष्टहरु

spot_img
spot_img

Contact

Hemanta Parajuli

Teacher

Follow Us

Page View

website counter

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Video