कथाकार गुरुप्रसाद मैनाली र उनको ‘कर्तव्य’ कथा
जन्म: वि. सं. १९५७ जेठ २५
जन्मस्थान : कानपुर, काभ्रेपलान्चोक
शिक्षा: स्वाध्ययन
प्रकाशित कृति : नासो (कथा सङ्ग्रह, २०२०)
सम्मान तथा पुरस्कार : मैनाली पुरस्कारको स्थापना (उनको नामबाट स्थापित पुरस्कारबाट साहित्यकार सम्मानित हुनुले उनी प्रतिको सम्मान)
मृत्यु : वि. सं. २०२८
कथाकार गुरुप्रसाद मैनालीका कथागत प्रवृत्ति :
वि.सं. १९९२ मा शारदा पत्रिकामा ‘नासो’ कथा प्रकाशन गरी औपचारिक रूपमा कथायात्रा सुरु गरेका
प्रथम आधुनिक नेपाली कथाकार
सामाजिक आदर्शोन्मुख यथार्थवादी कथाकार
सामाजिक विकृति र विसङ्गतिको चित्रण
पुरानो पुस्ता र नयाँ पुस्ताबिच द्वन्द्वको प्रस्तुति
मध्यम वर्गीय नेपाली समाजको चित्रण
समाज सुधारको भावना
पारिवारिक तथा ग्रामीण परिवेशमा आधारित कथाको रचना
सरल र सहज भाषाशैली
कथा सन्दर्भ
‘कर्तव्य’ गुरुप्रसाद मैनाली (वि.सं. १९५७ – २०२८) द्वारा रचना गरिएको कथा हो । यो कथा ‘नासो’ कथा सङ्ग्रह (वि.सं. २०२०) मा सङ्कलित छ । दाजुभाइबिच कहिलेकाहीँ सानातिना विषयलाई लिएर झगडा हुन सक्छ । झगडा भयो भन्दैमा कसैले पनि आफ्नो कर्तव्य बिर्सनु हुँदैन भनी कर्तव्यच्यूत भएकाहरूलाई कर्तव्यपथमा डोऱ्याउने सन्दर्भमा यस कथाको रचना गरिएको पाइन्छ ।
कथा सार
गाउँका न्यायमूर्ति, भोकानाङ्गा र दीनदुःखीका बाबु, बुढाबुढी र असहायका टेक्ने लठ्ठी, गाउँमा ‘मुखिया बा’ का नामले प्रसिद्ध गङ्गाधरले लगातार नौ दिन ज्वरो आएर संसार छाडे। उनको दुःखद निधनमा दश गाउँका मानिस डाँको छोडेर रोए। सबैले आफ्नो आधारस्तम्भ गुमेको महसुस गरे। आध्यात्मिक व्यक्ति मुरलीधर र भौतिकवादी चिन्तन भएका श्रीधरबिच बाबु गङ्गाधरको मृत्युपश्चात् जिउनीको विषयलाई लिएर विवाद भयो । बाबुसँग बसेकाले जिउनी खेत सबै आफ्नो हुन्छ भन्ने जिकिर श्रीधरले गरे । मर्ने बेलामा बाबुले दुवै छोराले जिउनी खेत आधा आधा बाँडेर लिनू भनेकाले खेतको आधा भागमा आफ्नो अधिकार लाग्ने कुरा मुरलीधरले गरे ।
दाजुभाइबिच विवाद भएपछि निसाफका लागि जम्मा भएका गाउँका मानिसले पनि निसाफ गर्न सकेनन् । न्यायका लागि मुरलीधरले अदालतमा नालिस दिए। दुवै छोराले आधा आधा लिने भन्ने कुराको लिखित प्रमाण नभएको र अदालतमा समेत प्रभाव जमाइसकेका हुँदा मुद्दा श्रीधरले जिते । यही कुराले गर्दा दाजुभाइबिच बोलचाल बन्द भयो। श्रीधर बिरामी भएको अवस्थामा उनका छोरा शशीधरको कुलघरानकी केटीसँग बिहे गर्ने कुरो छिनियो । गाउँले, छिमेकी र इष्टमित्र सबैलाई विवाहमा निम्तो दिइयो तर आफ्ना सहोदर दाजुको परिवारलाई भने निम्ता गरिएन। कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ भन्दै मुरलीधर बिहेमा गए र कुलको इज्जत जोगाए । मुरलीधरको उपस्थिति देखेर कन्या पक्षका मानिसले पनि त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे भन्दै मुरलीधरको प्रशंसा गरे । आफूले बाबु समानका दाजुलाई नबोलाए पनि विवाहमा गई कुलघरानको इज्जत राखेर फर्केको थाहा पाएपछि श्रीधर नतमस्तक भए । त्यस घटनापछि उनी जिउनी खेत आधा आधा बाँडी लिने मनस्थितिमा पुगे र त्यो कुरा छोरा शशीधरमार्फत मुरलीधरलाई प्रस्ताव गरे । त्यसको चौध पन्ध्र दिनपछि श्रीधरलाई व्यथाले चाप्यो । भाइको अवस्था थाहा पाएपछि मुरलीधर उनको घर गए । दाजुलाई देख्नासाथ पश्चातापको भावमा आँसु झार्दै श्रीधरले ढोगे। भाइका आँखामा आँसु देखेर मुरलीधरका पनि आँखा रसाए । चार वर्षपछि दाजुभाइको पुनर्मिलन भयो। आफ्नो अवस्था नाजुक भएपछि जीवनमा आफूले दाजुप्रति गरेको अत्याचार सम्झेर अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीप्रतिको अभिभावकीय जिम्मेवारी वहन गर्न आग्रह गरे । उपचार गरे रोग निको हुन्छ भनी हौसला दिँदै भाइलाई उपचार गराउन मुरलीधर हिँडेको घटनासँगै कथाको अन्त्य भएको छ ।
पात्र
कर्तव्य कथामा गङ्गाधर, मुरलीधर, श्रीधर, शशीधर, कमला, मुरलीधरका छोरीहरू, श्रीधरकी छोरी रमा, शशीधरकी दुलही, जन्ती, गाउँले, कन्या पक्षका बुढापाका, दुलहीका पिता, गाउँका अल्लारे ठिटा, केटाकेटीलगायत थुप्रै पात्रहरूको प्रयोग गरिएको छ । तीमध्ये मुख्य पात्रको चर्चा यहाँ गरिएको छ :
मुरलीधर
गङ्गाधरका जेठा छोरा, श्रीधरका दाइ र कमलाका श्रीमान् मुरलीधर कर्तव्य कथाका प्रमुख पात्र हुन् । बिहान सबेरै उठेर नुहाउने, आधा दिनसम्म पाठपूजा गर्ने उनी धर्म र संस्कृतिमा असीम श्रद्धा राख्ने व्यक्ति हुन् । उनी धोतीमाथि लबेदा, लबेदामाथि सेतो पटुका, शिरमा मखमलको रातो टोपी, निधारमा चन्दन लगाएर हिँड्थे । जिल्लामा मुरली पण्डितका नामले प्रसिद्ध उनी आध्यात्मिक प्रवृत्तिका थिए । निःस्वार्थी र परोपकारी उनी आफ्नो अधिकारप्रति सचेत थिए त्यसैले उनले जिउनी खेतको प्राप्तिका लागि गाउँ र अदालतबाट न्यायको खोजी गरे । उनी कुलको इज्जत प्रतिष्ठालाई जोगाउनु सन्ततिको कर्तव्य ठान्थे । मानिस बुद्धिमान् र विवेकशील प्राणी भएकाले बेलाबखतमा बुद्धि र विवेकको सही प्रयोग गरेर अघि बढ्नुपर्छ भन्ने उनको मान्यता थियो । घमन्ड र झगडाले मानिसलाई अवनतिको बाटोतर्फ धकेल्छ झगडा भयो भन्दैमा कर्तव्य बिर्सनुहुँदैन; धनसम्पत्तिभन्दा रगतको नाता ठुलो हुन्छ, बैगुनीलाई गुनले मार्न सक्नुपर्छ भन्ने जस्ता भावनाले प्रेरित भएका मुरलीधर आदर्श पात्र हुन् । निम्तो नदिए पनि भतिज शशीधरको विवाहमा गएर उनले आफ्नो कर्तव्य पूरा गरे । भ्रातृप्रेम दर्साउँदै बिरामी भाइलाई उपचार गर्न लगे । यसरी हेर्दा मुरलीधर कर्तव्यपरायण पात्रका रूपमा देखा पर्दछन् । उनी कथाकारका मुखपात्र हुन् ।
श्रीधर
श्रीधर गङ्गाधरका कान्छा छोरा, मुरलीधरका भाइ र शशीधरका बुबा हुन् । उनी राजनीतिक पार्टीका सदस्य र ग्रामविकासका प्रधान हुन् । दसौं श्रेणीसम्म पढेका उनी धोक्रे सुरुवाल र कुर्ता लगाउँथे । अरूसँग बोल्दा आधा अङ्ग्रेजी, चौथाइ संस्कृत र चौथाइ नेपाली मिसाएर कुरा गर्थे । पाठपूजा गर्नु र टीकाचन्दन लगाउनुलाई दासत्वको चिन्ह हो भन्ने उनी भौतिकवादी व्यक्ति हुन् । उनी आफूलाई जिल्लाभरिको प्रमुख प्रगतिवादी सम्झन्थे । हातमा चन्दा बुक लिएर चन्दा माग्दै हिँड्ने उनी जिल्लामा शर्माजीका नामले प्रख्यात थिए। सामाजिक मूल्य मान्यताका विरुद्ध उभिएका उनले आफ्नो रवाफ र धाकधम्कीको आडमा जिल्ला, अड्डाअदालतदेखि लिएर अन्य कार्यालयमा समेत प्रभाव जमाएका थिए । यही कुराको आडमा बाबुको जिउनी खेतको विषयमा भएको मुद्दा जितेर आफ्नो बनाउन सफल भए । रगतको नाताभन्दा पनि सम्पत्तिलाई ठुलो ठान्ने उनले बाबु समानका आफ्ना दाजुलाई छोराको विवाहमा बोलाएनन्। यसबाट उनी कर्तव्यच्यूत र अविवेकी पात्र हुन् भन्ने प्रस्ट हुन्छ । आफूले नबोलाए पनि विवाहमा गएर कुलघरानको इज्जत राख्ने र बिरामी हुँदा उपचार गर्न लैजाने आफ्ना दाजुको व्यवहारबाट उनी नतमस्तक भएका छन् । दाजुप्रति अत्याचार गरेको महसुस गरी क्षमा माग्दै श्रीधर शरणमा परेका छन्। यसरी हेर्दा उनी समयमा बुद्धि र विवेकले काम गर्न नसक्ने, धनसम्पत्तिलाई ठुलो देख्ने र पछि पछुताउने पात्र हुन्। कथामा उनी गतिशील पात्रका रूपमा देखा परेका छन् ।
परिवेश
गुरुप्रसाद मैनालीद्वारा लेखिएको ‘कर्तव्य’ सामाजिक कथा हो । कथामा जनक्रान्तिदेखि यता श्रीधरले अड्डाखानामा आफ्नो प्रभाव जमाइसकेको प्रसङ्ग उल्लेख गरिएकाले समयगत परिवेशका रूपमा २००७ सालपछिको समय रहेको देखिन्छ । ‘कर्तव्य’ ग्रामीण परिवेशमा संरचित कथा हो । गङ्गाधर गाउँमा मुखिया बाका नामले चिनिनु, गाउँका केटाकेटी, युवावृद्ध सबैका माझ प्रिय हुनु, दश गाउँका मानिस न्यायका लागि उनका आँगनमा आइपुग्नु, जिउनी खेतको विषयलाई लिएर भएको विवादमा न्यायका लागि मुरलीधरले गाउँका मानिसलाई बोलाउनु जस्ता घटनाले यो कथा ग्रामीण परिवेशमा संरचित छ भन्ने कुरा प्रस्ट हुन्छ । कथामा श्रीधरको परिचय दिने सन्दर्भमा स्मरणका रूपमा वीरगन्ज, गोरखपुर जस्ता ठाउँहरू उल्लेख भएका छन् तथापि कथाको उद्देश्य र मुख्य घटनाका सन्दर्भलाई हेर्दा भने कथामा ग्रामीण परिवेश नै मुख्य भएर आएको छ । त्यसरी नै कथामा धार्मिक सांस्कृतिक परिवेश पनि रहेको छ। बिहान सबेरै उठेर नुहाउने, पाठपूजा गर्ने, सप्ताह, पुराण भन्ने, श्राद्ध गर्ने, निधारमा चन्दन लगाउने, एकादशीमा उपास्ने जस्ता कार्यले धार्मिक परिवेश रहेको देखिन्छ ।काजक्रिया गर्ने, विवाहमा बाजाको मङ्गल धुन बजाउने, आँगनमा चौका बनाउने, चँदुवा र तोरण टाँगी विवाह मण्डप सिँगार्ने, मण्डपमा दुलाहादुलही बसेर विधिविधानपूर्वक मन्त्रोच्चारण गरी विवाह गर्ने, जन्ती जाने,दसैँतिहार मनाउने जस्ता प्रसङ्गले हिन्दु सांस्कृतिक परिवेशको चित्रण गरिएको छ । कथामा पाठपूजा गर्नु र टीकाचन्दन लगाउनुलाई दासत्वको चिह्न हो भन्ने कुरा, पहिरन, खानपान आदिको प्रसङ्गले समाजमा नयाँ पुस्ता र पुरानो पुस्ताबिच देखिएको भिन्न सोचको सङ्केत गरिएको पाइन्छ ।
उद्देश्य
सामाजिक आदर्शोन्मुख यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ उत्कृष्ट सामाजिक कथा हो। यस कथामा दाजुभाइबिचमा देखापर्ने व्यवहारलाई सजीव रूपमा चित्रण गर्दै कर्तव्यच्यूत भएकाहरूलाई कर्तव्यपथमा डोर्याउने काम गरिएको छ । सँगै सुतेपछि कहिलेकाहीँ लात्ती लाग्छ भने झैँ दाजुभाइबिचमा सानातिना कुराले मनमुटाव भयो भन्दैमा कर्तव्यबाट टाढिनुहुँदैन । परिआउँदा जिम्मेवारी वहन गर्दै भ्रातृप्रेमको आदर्शलाई जीवित राख्नुपर्छ। आफूले राम्रो काम गरेपछि अर्काको मनमा पनि सकारात्मक परिवर्तन आउँछ भन्ने सन्देश यस कथामा व्यक्त भएको पाइन्छ ।
मानवीय सम्बन्धका अगाडि धनसम्पत्ति तुच्छ कुरा हो। केही पाउन केही त्याग्नुपर्छ। मानवमा मानवीय भावना हुनुपर्छ। आपतविपतमा सहयोग गर्नु मानवीय धर्म हो ।आवश्यक परेको बेलामा स्वविवेक प्रयोग गरेर आफ्नो दायित्व पूरा गर्नुपर्छ। पुर्खाको मान, प्रतिष्ठा र कीर्तिको ख्याल गरी घरभित्र भएको मनमुटावलाई बिर्सेर भए पनि आवश्यक परेको बेला कर्तव्यपरायण बन्नुपर्छ भन्ने विचार कथाकार मैनालीले मुरलीधरका माध्यमबाट स्पष्ट पारेका छन् । यसरी कर्तव्य कथामा धनसम्पत्तिभन्दा नाता सम्बन्ध ठुलो कुरा हो र भ्रातृप्रेमका अगाडि अन्य कुरा सामान्य हुन्छन् भन्ने कुरा देखाइएको छ ।
कथामा मुरलीधरका माध्यमबाट सामाजिक परम्परा, रीतिरिवाज र संस्कृतिको संरक्षण गर्नुपर्ने सन्देश दिइएको छ। कथामा पुरानो पुस्ता र नयाँ पुस्ताबिचको भिन्न किसिमको सोचाइ र संस्कारलाई पनि यथार्थ रूपमा चित्रण गरिएको छ । नेपाली समाजका विकृति र विसङ्गतिलाई सकारात्मक रूपमा परिवर्तन गरी आदर्श समाज निर्माण गर्न सकिन्छ भन्ने कुराको चित्रण कथामा गरिएको छ । यसरी नेपाली समाजका चालचलन, संस्कृति, परम्परा, चाडपर्व र समाजमा देखिने विविध किसिमका समस्याको चित्रण गर्दै आदर्श समाज निर्माणको सन्देश दिइएको यस कथामा नेपाली समाजको वास्तविकताको चित्रण गरिएको छ ।
भाषाशैली
कथामा सरल, सहज र बोधगम्य भाषाको प्रयोग गरिएको छ । पात्रानुकूल कथ्य भाषाको प्रयोगले कथा स्वाभाविक बनेको छ । कथामा कहीँकतै संवादको पनि प्रयोग गरिएको छ । मुसुमुसु, बर्र, सुटुक्क जस्ता अनुकरणात्मक शब्द, पुङ न पुच्छर, ओठ निचोर्दा दुध भर्ने जस्ता टुक्काको प्रयोगले कथा रोचक बनेको छ । कथा तृतीय पुरुष शैलीमा संरचित छ ।
कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्ति कक्षा १०
व्याख्या / भाव विस्तार नमुना
कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ ।
उत्तरः कुकुर अज्ञानी ……………………………………………………पनि जानुपर्छ ।
प्रस्तुत कथांश ‘कर्तव्य’ कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार गुरुप्रसाद मैनाली (वि.सं.१९५७-२०२८) हुन्। मैनाली नेपाली कथा साहित्यका पहिलो आधुनिक कथाकार हुन् । सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा लेख्ने कथाकारका रूपमा परिचित मैनालीको ‘नासो’ कथासङ्ग्रह प्रकाशित छ । माथिको कथांश मुरलीधरले कर्तव्य पालनको सिलसिलामा श्रीमती कमलालाई सम्झाउने क्रममा भनेका हुन् ।
दाजुभाइको झगडा भएपछि बोलचालसमेत बन्द भएको हुन्छ । श्रीधरको छोरा शशीधरको विवाहमा सबैलाई बोलाइएको भए पनि आफ्नै सहोदर दाजुलाई बोलाइएको हुँदैन । बरियात हिँड्न लाग्दा मुरलीधरले सबै अल्लारे ठिटा मात्र देखे । भाइ श्रीधर बिरामी भएर जान सक्ने अवस्थामा थिएन । कन्याको घरमा पुग्दा अभिभावक बनेर काम गर्ने व्यक्ति नदेखेपछि मुरलीधर बाबुबाजेको इज्जत राख्नका लागि आफू बरियात जानुपर्ने कर्तव्य ठानी जान तयार हुन्छन् । उनकी श्रीमती कमलाले भने नबोलाएको ठाउँमा त कुकुर पनि नजाने भएकाले जान नदिने कुरा गर्छिन् । मुरलीधर श्रीमतीलाई सम्झाउँदै कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ । मानिस कुकुर होइन, ज्ञानवान् हो । तसर्थ मानिस चाहिँ बखतमौका विचार गरेर नबोलाए पनि आफैँ जानुपर्छ भनी सम्झाउँछन् । बाबुबाजेको इज्जत राख्नका लागि कर्तव्य निर्वाह गर्नुपर्ने अवस्थाबाट पछि हट्न हुँदैन भनी उनी श्रीमतीलाई सम्झाउँदै बरियात जान्छन् ।
यसर्थ मानिस ज्ञानवान् भएकाले बखतमौका विचार गरेर निर्णय लिनुपर्छ । कर्तव्य पालन गर्नु हामी सबैका लागि हितकर हुन्छ । सकारात्मक सोचले नातासम्बन्ध बलियो बनाउन सकिन्छ भन्ने कुरा माथिको कथांशमा स्पष्ट पारिएको छ।
तार्किक उत्तर नमुना
‘कर्तव्य’ कथामा श्रीधर र मुरलीधरमध्ये तपाईं कसको पक्ष लिनुहुन्थ्यो ? किन ?
उत्तर : ‘कर्तव्य’ कथा गुरुप्रसाद मैनाली (वि.सं. १९५७ – २०२८) द्वारा रचिएको सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा हो । यस कथामा मुरलीधर र श्रीधरका माध्यमबाट नेपाली समाजमा दाजुभाइका बिचमा हुने अंशबण्डासम्बन्धी झगडा र कर्तव्यपालनको सन्दर्भलाई मुख्य विषयवस्तु बनाइएको छ । यस कथामा श्रीधर र मुरलीधरमध्ये म मुरलीधरको पक्ष लिन्थेँ ।
मुरलीधर धार्मिक व्यक्तित्व हुन् । उनमा असल स्वभाव र व्यवहार रहेको छ । कसैको पनि कुभलो नचिताउने व्यक्तिका रूपमा उनी रहेका छन् । भाइसँग पनि उनी जिउनी लिँदैनथे । महान् व्यक्तित्वका रूपमा रहेका पिताले मर्ने वेलामा बाँडेर खानु भनेकाले मात्र उनी बाबुको आज्ञा पालन गर्नका लागि उक्त जिउनी खेत आधा पाउनुपर्छ भनी अदालतसम्म पुगेका हुन् । उनमा खराब नियत भएको भए त उनी विवाहमा कर्तव्य पालन गर्न भनेर जाँदैनथे । तसर्थ म ‘कर्तव्य’ कथामा श्रीधर र मुरलीधरमध्ये मुरलीधरको पक्ष लिन्थेँ ।
लामो उत्तर नमुना
“कर्तव्य” कथामा नेपाली समाजको वास्तविकता कसरी दर्शाइएको छ ? विवेचना गर्नुहोस् ।
उत्तर : गुरुप्रसाद मैनाली (वि.सं. १९५७-२०२८) द्वारा रचिएको ‘कर्तव्य’ कथा सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा हो । मैनाली नेपाली कथा साहित्यका पहिलो आधुनिक कथाकार हुन् । सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा लेख्ने कथाकारका रूपमा परिचित मैनालीको ‘नासो’ कथासङ्ग्रह प्रकाशित छ । यस कथामा मुरलीधर र श्रीधरका माध्यमबाट नेपाली समाजमा दाजुभाइका बिचमा हुने मनमुटाव र झगडा तथा कर्तव्यपालनको सन्दर्भलाई मुख्य विषयवस्तु बनाएर नेपाली समाजको वास्तविकता दर्साइएको छ ।
कथाको प्रारम्भमा गङ्गाधर जस्ता महान् व्यक्तित्वको सत्कर्मको चर्चा गर्दै समाजसेवा नेपाली समाजको मुख्य पक्ष भएको चर्चा गरिएको छ । मरेपछि मलामी पनि चाहिन्छ र यसका लागि समाज र जनताका लागि केही गर्नुपर्छ भन्ने नेपाली समाजको वास्तविकता कथामा सरल र निकै मार्मिक ढङ्गबाट दर्साइएको छ । जिउनीको विषयलाई लिएर मुरलीधर र श्रीधरका बिचमा मनमुटाब हुन्छ । झगडा अदालतसम्म पुग्छ । अदालतले श्रीधरका पक्षमा फैसला सुनाउँछ । छोराको विवाहमा श्रीधरले सहोदर दाजुभाउजूलाई बोलाउँदैनन् तर मुरलीधरले कर्तव्य पालना गर्नुपर्ने अवस्था आउँछ । मुरलीधर आफ्नो कर्तव्यबाट विमुख बन्दैनन् । विवाहमा गएर आफ्नो कर्तव्य निर्वाह गर्दछन् । श्रीधरले यो कुरा थाहा पाएपछि उनलाई पनि आफ्नो गल्तीको महसुस हुन्छ । त्यसपछि दुई दाजुभाइका बिचमा पुनर्मिलन हुन्छ।
दाजुभाइका बिचको झगडा र बोलचाल बन्दसम्मको अवस्था हाम्रो समाजको वास्तविकता हो । मुरलीधरको कर्तव्यपालनाले हाम्रो समाजको अभिभावकीय वास्तविकतालाई स्पष्ट पारेको छ । कथाको अन्त्यतिर दाजुभाइको पुनर्मिलन र औषधी उपचार गराउन लगेको प्रसङ्गका माध्यमबाट भातृप्रेमसमेत देखाइएको छ । सम्पत्तिभन्दा मानवीय सम्बन्ध ठुलो कुरा भएकाले यसलाई जोगाउन समाजका हरेक सदस्यले त्याग गर्न सक्नुपर्छ भन्ने वास्तविकतालाई पनि कथाले निकै जोड दिएको छ ।
यसरी सामाजिक विषयवस्तुमा आधारित ‘कर्तव्य’ कथाले श्रीधर र मुरलीधरका माध्यमबाट दाजुभाइका बिचमा हुने मनमुटाव र भैझगडासम्बन्धी वास्तविकता दर्साएको छ । यसका साथै धनसम्पत्तिभन्दा नातासम्बन्ध ठुलो भएको यथार्थ पनि प्रस्तुत गरेको छ।