उपन्यासकारको परिचय
उपन्यासकार हृदयचन्द्र सिंह प्रधान (१९७२-२०१६) नेपाली साहित्यका बहमुखी प्रतिभा हुन् । उनले नेपाली साहित्यका निबन्ध, नाटक, उपन्यास र समालोचना विधामा कलम चलाएका छन् । यिनका स्वास्नीमान्छे (२०११), एक चिहान (२०१७), उपन्यास, भूस्वर्ग ( २००४) तिस रूपियाको नोट (२००४) गंगा (२००९) कुरा साँचो हो(२०११) अफसोच (२०२७) निबन्ध सङग्रह, छेउ लागेर (२००६) गङ्गालालको चिता (२०११) किर्तिपूरको युद्धमा । २०१५) उनी देवता हुन् (२०१६) नाटक तथा एकाङकी, भानुभक्त एक समीक्षा (२०१३) नेपाली काव्य र उनका प्रतिनिधि कवि (२०२०) समालोचना प्रकाशित रहेका छन । नेपाली समाजको यथार्थ चित्र आफ्ना रचनामा प्रस्तुत गर्ने यिनी आलोचनात्मक यथार्थवादी उपन्यासकार हन । सहरभित्र रहेको ग्रामीण समाजका पीडा, दुःख र अभावलाई मूल विषय बनाएका यिनका सबै औपन्यासिक कृतिहरूमा सामाजिक शोषण, अन्धविश्वास, कुसस्कार, कुरीतिप्रति तीव्र रूपमा व्यङ्ग्य प्रहार गरिएको हुन्छ । सामाजिक जीवनका दुरावस्थालाई कारुणिक रूपमा चित्रण गर्नु यिनको मुल विशेषता हो । सामाजिक विसङ्गति र विकृतिको विरोध गरी समाज परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको विश्वास रहेको छ । नेपाली समाजको संरचनागत कमजोरीका कारण निम्न वर्गीय मानिसहरूले दुख पाएका हुन भन्ने निष्कर्ष उपन्यासकारले एक चिहान उपन्यासमा निकालेका छन् । समानता, स्वतन्त्रता, भ्रातृत्व, अन्तरजातीय मेलमिलाप र साम्प्रदायिक सद्भाव कायम राखी आदर्श समाजको निर्माण गर्ने कुरामा हृदयचन्द्र सिंह प्रधानको’ ‘एक चिहान’ उपन्यास ज्यादै सफल रहेको छ । यसले उपन्यासकारको व्यक्तित्वलाई माथि उठाउने काम पनि गरेको छ । उपन्यासकार हृदयचन्द्र सिंह प्रधानका विशेषतालाई निम्नानुसार देखाउन सकिन्छः
‘एक चिहान’ उपन्यासको समीक्षा
कथावस्तु/कथानक
हृदयचन्द्र सिंह प्रधानको एक चिहान (२०१७) निम्न वर्गीय कृषक परिवारले भोग्न परेका समस्या र सामाजिक शोषणको कारुणिक यथार्थलाई समेटेर तयार गरिएको प्रगतिवादी उपन्यास हो। एक चिहान उपन्यासको कथावस्तु/ कथाक्रम निम्नानुसारको रहेको छ ।
परिच्छेद एक
जीवनको अन्तिम अवस्था सम्झेर अष्टनारानले आफ्ना छोराछोरी र श्रीमतीलाई सम्झाइ रहेका छन् । उनले आफ्ना छोराहरूलाई बहिनी र आमालाई राम्ररी हेरविचार गर्न भनी भनेका छन् । उमेर सकी सकेको र रोग निको नहुने हुनाले आफुलाई औषधी गरी व्यर्थमा खर्च नगर्न छोरालाई भन्दछन । रोगी हुनाले बोल्दा परिश्रम पर्छ भनी पटक पटक छोराछोरीले सचेत तुल्याउँदा तुल्याउँदै पनि उनी बोली रहन्छन । अष्टनारानले गएको दुई वर्षदेखि केही जोगाएको र त्यो पैसा ढिकीनिर खाल्डो खनेर गाडी राखेको कुराको जानकारी पनि दिन्छन, अनि आफ्नो काजक्रिया त्यही २५ रूपियाँले गर्न तथा धेरै ऋण नगर्न सबैलाई सल्लाह दिएका छन् ।
परिच्छेद दुई
अष्टनारान बिरामी परेको दुई महिना भएको छ । आफ्नै टोलका गुभाजुले निको पार्न नसकेपछि उनलाई असनका तुयु गुभाजुसँग पनि देखाइएको छ तर उनलाई बिसेक भएको छैन । हप्ता दिनसम्म माहिला कविराजलाई देखाउँदा पनि रोग निको भएन बरू फिस र औषधीमा केही पैसा रूपैया सिद्धियो । केही सिप नलागेपछि, अष्टनारानकी श्रीमती लतमायाले पतिले गाडेर राखेको २५ रूपैया खर्च गरेर भए पनि डाक्टरलाई देखाउने इच्छा व्यक्त गरिन् । घरायसी सरसल्लाह पछि जेठा छोरा शिवनारान डाक्टर गोदत्त प्रसादलाई बोलाउन हिँडे । आफ्ना बाबु सिकिस्त हुनाले हेरि दिनु पर्यो भनी बिन्ती गर्दा पनि डाक्टर गोदत्त प्रसादले किताब पढिरहेको बाहाना गर्दै बेवास्ता गरे।
परिच्छेद तीन
पतिको व्यथा बढ्दै गएको र डाक्टरलाई बोलाउन गएको शिवनारान नआएकोले महिलो छोरो पुननारानलाई लतमायाले डाक्टर बोलाउन पठाइन् । सिकर्मी काम गर्ने पुननारानले आठ दिनको ज्याला पेस्की स्वरूप ल्याएको, त्यो बाबुको उपचारका क्रममा सकिएको र काम गर्न जान नभ्याएकोले साहु आएर पुननारानलाई कि पेस्की फिर्ता गर्न, कि काममा हिँड्न ताकेता गरेको थिए । पुननारानले नम्रतापूर्वक आफ्नो समस्या बताएपछि भने साहुले केही गर्न सकेनन् । साहु उम्काएर डाक्टरकोमा पुगेका पुननारानले दाजु शिवनारानलाई ढिलो गर्नाको कारण सोधे । बाबुको व्यथा बढ्दै गएकोले छिटै जान पर्यो भनी डाक्टरलाई अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्न मुस्किल होला भनी सचेत गराए । घर पुग्नासाथ फिस दिने कुरा गरेपछि डाक्टर अष्टनारानको घरतिर लागे।
परिच्छेद चार
बिरामी जाँचेर प्रेस्किप्सन लेखिरहेका बेलामा गोदत्त प्रसादले नानीथकुँलाई देखे । बिरामीको व्यथा निकै कडा भएको कुरा गर्दा मुख अँध्यारो पारेकी नानीथकुँसँग गोदत्त प्रसादले आफूले सकेसम्म कोसिस गर्ने कुरा गरे । उनले लतमायाबाट नानीथकुँ अष्टनारानकी छोरी भएको र तिनको विवाह नभएको कुरा पनि थाहा पाए । यो कुरा थाहा पाएपछि डाक्टरले कम्पाउन्डरलाई बोलाएर दिने भनेको इन्जेक्सन पनि आफै आएर दिए । नानीथकुँको सौन्दर्यबाट गोदत्त प्रसाद निकै प्रभावित भएर उनले आफ्नो घरमा फर्केर पनि नानीथकुँको अनुहार सम्झि रहे । उनलाई कति बेला पाँच बज्ला र नानीथकुँलाई देख्न पाउँला जस्तो लाग्यो । ठिक पाँच बजे गोदत्त प्रसाद अष्टनारानको घरमा पुगे। गोदत्त प्रसादले बाबुको गोडा मिचेर बसेकी नानीथकुँलाई त्यस्तो नगर्न सल्लाह दिए र जाने बेलामा गोदत्त प्रसादले फिस लिन मानेनन् साथै आफ्नो बुद्धि विवेकले भेटेसम्म उपचार गर्ने वचन पनि दिए । यत्तिकैमा उपन्यासको चौथो परिच्छेद सकिन्छ ।
परिच्छेद पाँच
डाक्टर गइ सकेपछि अष्टनारानले परिवारका सबै सदस्यहरूलाई बोलाएर डाक्टरलाई देखाएर नचाहिँदो रिण नबोक्न सबैलाई भने । अष्टनारानका विचारमा औषधी गर्नु भनेको गरिबका लागि ठट्टाको कुरा होइन । डाक्टरले आफ्नो उपचार गरेको फिस नलिने कुरा थाहा पाएपछि अब फेरि डाक्टरलाई नबोलाउनु भने । उनलाई डाक्टरको चरित्रमाथि निकै शङ्का लागेको छ । अष्टनारानको कुराले छोरा शिवनारानलाई पनि सशङ्कित बनाउँछ तर पनि शिवनारान र लतमायाले डाक्टरी औषधी गर्नै पर्ने सोचे ।
परिच्छेद छ
डाक्टरको औषधीले हो वा थकानले हो, अष्टनारानलाई राम्रो निद्रा लाग्यो । सबै परिवारका सदस्यहरू अब निको हुन्छ भन्ने कुरामा आशावादी भए । अर्को दिन बिहान अष्टनारानले सबै परिवारलाई आफ्नो नजिकै बसेको देखेर शिवनारानलाई खेतमा काम गर्न जान भने । किसानका छोराले मरेको बाबुलाई समेत फ्याकेर असारको पूजा गर्न पर्छ भन्ने उनको विचार छ । शिवनारानले आफुले भनेको नमानेपछि सिकर्मी छोरा पुननारानलाई काममा जान अष्टनारानले आग्रह गरे । कुरेर मात्र बिरामी नबाँच्ने हुनाले लतमायालाई मात्र कुर्न बसेर अरू काममा जानको लागि अष्टनारानले भने । अष्टनारानको अगाडि बसि रहे बाबुले फेरि बोल्न थाल्लान् भनेर सबै छोराछोरी त्यहाँबाट टाढा गए।
परिच्छेद सात
आठ बजे आएर डाक्टरले अष्टनारानको जाँचबुझ गरे । अष्टनारानले केही अफ्ठेरो भएको र खान मन नलागेको बताएपछि आज सोमबारे औंसीको दिन भएकोले मर्छु होला भन्ने विचार अष्टनारानले व्यक्त गरे । डाक्टर गोदत्त प्रसादले अझ केही समय बाँच्नको निम्ति प्रेरणा दिए । डाक्टर गोदत्तले ढोकाबाट चियाएर हेरेका छोराछोरी र लतमायालाई बिरामीले आजको दिन काट्न गाह्रो रहेको कुराको सङ्केत गरे । सबै आत्तिए डाक्टरले पनि अब औषधी गर्नु व्यर्थ छ भन्ने कुरा बताए । अष्टनारानलाई आफ्ना सबै छोराछोरीले काम छोडेकोमा चिन्ता लाग्यो । उनले आफू मरेपछि छोरालाई ऋण लिएर दान दक्षिणा नगर्न आग्रह गरे । बोल्दा बोल्दै अष्टनारानले सदाका लागि आँखा चिम्लिए।
परिच्छेद आठ
अष्टनारानको मृत्युपछि टोलवासीहरू घरमा जम्मा भए । अष्टनारानको अन्तेष्टिका लागि गुठियारहरु पनि आए। आर्थिक अभावका कारणले बाबुको अन्तिम संस्कार कसरी गर्ने भन्ने कुराले शिवनारानलाई पिरोल्यो । भएको केही पैसा पनि अष्टनारानको उपचारमा नै सकि सकेको थियो । बाबुको अन्त्येष्टि नसकी आलु बेच्न बाहिर जाने कुरा पनि आएन । गुठियारहरूले ढिलो भयो भनी ताकेता गरिरहेका थिए । त्यसै समयमा नानीथकुँले गोदत्त प्रसादसँग रिन माग्ने कुरा गरिन् । नानीथकुँ र हर्षनारान गएर गोदत्त प्रसादसँग पच्चिस रूपैँया ऋण मागेर ल्याए । यत्तिकैमा उपन्यासको आठौँ परिच्छेद सकिन्छ।
परिच्छेद नौ
भोलिपल्टदेखि शोकाकुल परिवारलाई सम्झाउन आउनेहरूको भीड लाग्न लाग्यो, मानिसहरू अष्टनारानको निधनमा शोक र सहानुभूति प्रकट गर्न आए । गोदत्त प्रसाद पनि आए । अष्टनारान मरे पछि दान दक्षिण दिने भोज भतेर खुवाउने चलनका विरोधी थिए । उनले त मान्छे मर्दा नजिकका नाता सम्बन्धी रोएर विचाः बिछ्याउने प्रथालाई समेत बन्द गरिदिएका थिए । बाबुको विचारबाट केही मात्रामा प्रभावित बनेका छोराहरूले पनि बाबुको अन्तेष्टिमा दान दक्षिणा दिने र भोज भतेर खुवाउने केही गरेनन् । बाबुको निधन भएको तेस्रो दिनदेखि शिवनारान खेतको काममा हिँडे र घरका सबैलाई कामको चाँजो मिलाए।
परिच्छेद दस
अष्टनारानको निधनपछि घरको जिम्मेवारी शिवनारानले लिए । आमा र बहिनीलाई घरको काममा लगाए। एकदिन तानमा कपडा बुनि रहेका बेला तल्सिङ सुब्बा सुरमानका मानिस राम बहादुर आई पुगे । राम बहादुरले लतमायालाई देशी तान किनेर कपडा बुन्न भने । पैसा नभएकोले देशी तान किन्न नसकेको कुरा लतमायाले राम बहादुलाई बताइन् । राम बहादुरले सुब्बासँग ऋण मागि दिने कुरा बताए । पहिलेकै बाली तिर्न नसकेकोले कसरी ऋण माग्ने भन्ने कुरा लतमायाले गरेपछि आफूले मिलाई दिने कुरा राम बहादुरले गरे । भोलि आउँदा देशी तान बोकेर ल्याउने कुरा गरी राम बहादुर त्यहाँबाट हिडे ।
परिच्छेद एघार
साँझ पाँच बज्दा नबज्दै डाक्टर गोदत्त प्रसाद शिवनारानको घरमा आउन लागेका थिए । पाँच बजे पछि लतमाया भान्सातिर लाग्ने हुनाले उनी नानीथकुँसित गफ गरेर बस्थे । आज पनि उनी आएर नानीथकुँलाई जिस्काउन लागे । उनले नानीथकुँलाई अब नानीमात्र भन्ने कुरा पनि गरे । यसो गर्दा नानीथकुँ रिसाएकाले उनको प्रसंशा पनि गर्न लागे । नानी नै भन्ने सहमति भएपछि गोदत्त प्रसाद उनीसँग झन जिस्किदै गए । नानी डाक्टर गोदत्तसँग निकै रमाइलो गर्न लागिन् । आमा लतमायाले भात खान आऊ भनेपछि भोलि भेट्ने वाचाका साथ गोदत्त प्रसादले नानीथकुँको हातमा चुम्बन गरी घरतिर लागे।
परिच्छेद बाह्र
लतमाया र नानीथकुँले भात नखाँदै काममा गएका सबै घर आइपुगे । लतमायाले सुरमान सुब्बाको मानिस आएको र देशी तान किनेर सहयोग गर्ने बारेमा दिउँसो भएका सबै कुरा छोराहरूलाई भनिन् । यस कुराले शिवनारानको मनमा आश्चर्य र शङ्का एकैचोटि सिर्जना गर्यो । उनलाई आमाले गरेको स्वीकृति ठिक लागेन । पहिला सालको बाली बाँकीको तमसुक च्यातेको भए पनि बेइमानी नगरी आफुले तिर्न पर्ने कुरा उनले गरे र उदारता खतरापूर्ण हुने विचार पनि प्रकट गरे । यस्तैमा गोदत्त प्रसाद घरमा आइ रहनुको कुरा पनि निस्क्यो । गोदत्तको सहयोग पनि आफूलाई नराम्रो लागेको कुरा व्यक्त गर्दा नानीथकुँले मुख बिगारिन् ।
परिच्छेद तेह्र
राति सुत्ने बेलामा हाकुमायाले पति शिवनारानसँग नानीथकुँको विवाहका बारेमा प्रश्न गरिन् । शिवनारानले आफूसँग बिहेका लागि पैसा नभएको जवाफ दिए । हाकुमायाले पानी लिन जाँदा पधेरामा पुन्चाकी स्वास्नीले नानीथकुँको डाक्टर गोदत्त प्रसादसँग प्रेम रहेको भनी गरेको कुरा बताइन् । डाक्टर दिनहुँ पाँच बजेतिर आउने गरेको र घण्टौँसम्म छिल्लिएर बस्ने गरको कुरा थाहा पाएपछि शिवनारानलाई आफ्ना बाबुले डाक्टरलाई नबोलाउन भनेको कुरा सम्झना भयो । हाकुमायाले नाथीथकुँलाई पनि काममा लैजान शिवनारानलाई सुझाव दिइन् । यही घटनामा उपन्यासको तेह्रौं परिच्छेद समाप्त भएको छ।
परिच्छेद चौध
शिवनारानले आमा लतमायालाई भरेदेखि नानीथकुँलाई खाना बनाउन लगाएर तपाइँले कपडा बुन्नु भन्ने आदेश दिएको घटनाबाट यो परिच्छेदको सुरुवात हुन्छ । डाक्टर र नानीथकुँको प्रेम प्रसङ्गका बारेमा केही कुरा बुझेपछि लतमायालाई पनि नानीथकुँप्रति घृणा र डाक्टरप्रति रिस उठ्यो। छोरीको यस्तो चाला देखेर उनलाई केही दुख पनि लाग्यो । बाबु मरेको दुई महिना नहुँदै घरमा छोरीले यस्तो गरेकोमा उनको मन भरिएर आयो । डाक्टरलाई आउँदै नआइज भन्न नसकिने हुनाले शिवनारानले बुद्धिले काम गर्न पर्ने कुरा आमालाई भने । साथै सुरमान सुब्बाले दिन खोजेको देशी तानलाई पनि स्वीकार नगर्न आग्रह गरे।
परिच्छेद पन्ध्र
दिनहुँ आफ्ना काममा व्यस्त हुने भए पनि लतमायालाई काम गर्ने त्यति जाँगर लागेन तैपनि उनी तान बुन्ने काममा लागिन् । नानीथकुँले भने तान चलाइरहेकी थिइन् । यसै समयमा राम बहादुरले दुई जना भरिया लगाएर देशी तान ल्याइ दियो । तान ल्याएकोमा बिखुसी बनेकी लतमायले राम बहादुरलाई तान लिएर जान भनिन् । राम बहादुरले लतमायालाई एकान्तमा लगेर अष्टनारानले नानीथकुँलाई सुब्बा साहेबसँग बिहे गरि दिने वचन दिइएको कुरा बतायो । लतमायाले शङ्का गरिन्, तर राम बहादुरले भगवानको कसम खाएर लतमायालाई विश्वास दिलायो । लतमायालाई लोग्नेले नानीथकुँ सुब्बालाई दिने वचन दिएका हुन् भन्ने लाग्यो । छोरासित सल्लाह गरेर जवाफ दिने कुरा गर्दा राम बहादुरले छोराहरूले नाइनास्ति गर्छन भन्ने बुझेर वचन दिइसके भन्नु भन्ने सिकायो। लतमायालाई आफ्नो विश्वासमा पारेर पर्सि आउने कुरा गरी राम बहादुर गयो।
परिच्छेद सोह्र
राम बहादर र लतमायाको एकान्तको कुराले नानीथकुँलाई अचम्मित पायो । उनले के विषयमा कुरा चलेको रहेछ भनेर लुकेर सुनेकी थिइन । उनीहरूको कुरा नानीथकुँलाई मन परेको थिएन किनकि उसको यौवनको उन्मादले डाक्टरलाई मनमा सजाइ सकेको थियो । यस्तै कुराको सिलसिलामा लतमायाले नानीथकुँलाई साँझको पकाउन भन्छिन् । किन आज आमाले खाना पकाउन भनिन् भन्ने बारेमा आश्चर्य मान्दा मान्दै डाक्टर गोदत्त टुपुक्क आइ पुगे। गोदत्त प्रसादले उनीहरूले काम गरेको हेर्न आफूलाई आनन्द लाग्ने कुरा गरे । साथै आफूलाई एक जोर कपडा बुनि दिन पनि आग्रह गरे । यही क्रममा शिवनारान खेतबाट चाँडै आउने हुनाले नानीथकुँलाई भात पकाउन जान भनिन् । डाक्टर र नानीथकुँ दुवैले भात पकाउन लतमाया नै जानु पर्छ भन्ने कुरा गरे । चलाखीपूर्ण रूपमा लतमायाले नानीथकुँलाई भान्सामा पठाइन् । गोदत्त प्रसाद नानीथकुँसँग कुरा गर्न नपाएकोमा दुःखी हुँदै अर्को दिन आउने कुरा गरेर हिँडे ।
परिच्छेद सत्र
शिवनारान कामवाट घर फर्कदा उनले घर नजिकै डाक्टर गोदत्त प्रसादसँग भेट भएको प्रसङ्गबाट उपन्यासको सत्रौँ परिच्छेद अगाडि बढेको छ । डाक्टरसँग रिस उठेको भए पनि रिसाउन नसकेर शिवनारान घरमा आई बहिनीलाई निकै हप्काए । डाक्टर पनि केही बेर कुरा गर्ने निँहुले फर्केर आए । लतमायालाई उसको आगमन आश्चर्यपूर्ण लागे पनि नानीथकुँलाई भने खुसी लाग्यो। शिवनारानको व्यवहारमा फरक देखेर र आफुलाई उपेक्षा गरेको देखेर डाक्टर फर्किए । शिवनारानको रिसले सीमा नाघ्यो । सबै अचम्म परे । नानीथकुँ भने खुलेर डाक्टरको पक्षमा बिल्न थालिन् । पुनानारानले डाक्टरले अहिलेसम्म नराम्रो केहा नगरेकाले अबदेखि उनलाई नआउनुहोला भन्ने विचार राखे। शिवनारानले नानीथकुँलाई डाक्टरलाई घरमा नआउनु भन्नु भनी आदेश दिएर कराइ रहे । त्यस रात नानीथकुँलाई पटक्कै निद्रा लागेन उकुसमुकुसमा नै रात बित्यो।
परिच्छेद अठार
अर्को दिन घरका सबै खाना खाएर आआफ्नो धन्दामा गए पनि नानीथकुँ भात खान गइनन् । कपाल दुखेको भनि बसिरहिन् । कुनै पनि उपायले समस्याको समाधान नहुने देखेपछि नानीथकुँ गोदत्त प्रसादको घरतिर लागिन् । विरामी नभएको समयमा फुर्तिले बसेको डाक्टर नानीथकुँलाई देखेर निकै हर्षित भए । धेरै बेरसम्म दुवैले प्रेमपुर्ण वार्तालाप गरे। रोक्न खोज्दा पनि नानीथकुँका आँखा आशुले भरिएका थिए । नानीथकुँले आफ्नो प्रेमप्रसङ्गका सम्पूर्ण कुराहरू डाक्टरसँग भनिन् र दाजु रिसाएको पनि बताइन् । उपन्यासको यसै खण्डमा नानीथकुँले डाक्टरलाई घर नआउन भनिनन् बरू आफू नै भेट्न आउने कुरा बताइन् । कुराको सिलसिलामा नानीथकुँले आफूलाई घर जान मन नलागेको र गोदत्त प्रसादविना बाँच्न नसक्ने कुरा पनि बताइन् । यी सबै कुरा डाक्टरकी श्रीमती रञ्जना देवीले लुकेर सुनेकी थिइन् । उनी त्यहाँ आइन्, दुवैको कुराकानी रोकियो डाक्टरलाई खाना खान बोलाई रञ्जना देवी बाहिरिन् ।
परिच्छेद उन्नाइस
रञ्जना देवीले खाना खाने बेलामा श्रीमानलाई निकै केरकार गरी झपारिन् । बिरामी जाँच्ने कोठामा नानीथकुँसँग के गरेको भनेर सोध्दा डाक्टरले हाँसेर कुरा टारिदिए । रञ्जना देवीले आफ्नो हृदयको व्यक्तिलाई कसैले हेरेकोसम्म पनि आफूलाई मन नपर्ने स्त्री स्वभावका बारेमा गोदत्त प्रसादलाई ज्ञान दिलाइन् । रञ्जना देवीले आफू कुनै पर पुरुषसँग छिल्लिएर कुरा गरे तपाईलाई कस्तो हुन्छ भनेर पनि सोधिन् तर कुनै प्रतिक्रिया नदिएर गोदत्त बाहिरिए ।
परिच्छेद बिस
रञ्जना शिक्षित र सचेत नारी भएकाले डाक्टर अस्पताल गएका बेला नानीथकुँलाई बोलाएर अल्लारे बैस र भोलिको परिणामका बारेमा राम्रोसँग बताइन् । साथै नारी अस्मिता र आदर्शलाई चिनाइ दिइन् । स्वास्नी मानिसको सौन्दर्य मुस्कान, लोग्ने मान्छेलाई भोगाउनका लागि मात्र होइन भन्दै रञ्जना देवीले नारी चरित्रका बारेमा व्याख्यान दिइन् । डाक्टरसँग नानीथकुँ फसेमा आफूलाई कुनै हानी नहुने तर नानीथकुँको भविष्य अन्धकार हुने बताइ दिएपछि नानीथकुँ लज्जित भएर घर फर्कइन्।
परिच्छेद एक्काइस
रञ्जना देवीका कुराले नानीथकुँको मन असन्तुलित बन्यो । उनलाई डाक्टरको विछोडमा दुख र रञ्जनाको सल्लाहमा पछुतो पनि लाग्यो । मनमा निकै द्वन्द पनि चल्यो । केही गर्न पनि नानीथकुँलाई जागर लागेन । गोदत्त प्रसादलाई पनि उस्तै भयो । डाक्टर गोदत्त श्रीमतीले दिइएको खाजा मन नलगाई नलगाई खाएर नानीथकुँलाई भेटन गए। नानीथकुँले आँखा खुलेको जस्तो व्यवहार गरी डाक्टरसँगको प्रेम फिर्ता लिएको कुरा गरिन् । डाक्टरको स्त्री प्रतिको आशक्त स्वभावमा व्यङ्ग्य पनि गरिन् । डाक्टरसँग प्रेम गरेर पाप गरेको भन्दै नानीथकुँले आमाले देख्नुहोला छिटो घर जानु भनिन् र अचेतन मनबाट भोलि भेटौला भनी बिदा गरिन ।
परिच्छेद बाइस
खेतको कामबाट चाडै फर्केका शिवनारानले गोदत्तलाई बाटोमा भेटे । गोदत्तले केही भन्न खोजे पनि उनी नबोली घरतिर लागे । छोरीको हेरचाह गर्न नसकेकोमा आमालाई गाली गरे भने नानीथकुँलाई बोलाएर बेसरी हपारे । हर्षनारानले भने चाहना भए डाक्टरसँग बिहे गरिदिने कुरा पनि गरे तर शिवनारान त्यो कुरामा निकै स्वतन्त्रताको नाममा जसले जे गरे पनि हुने कुरामा आफनो स्वीकृति नभएको जनाए । आमाले नानीथकुँलाई भोलि देखि खेतको काममा लैजान भनिन् । यत्तिकैमा यो परिच्छेद सकिन्छ।
परिच्छेद तेइस
यस परिच्छेदको आरम्भ शिवनारानको खेतमा रोपाइँ भएको घटनाबाट भएको छ । अष्टनारानले रोपाइँलाई पर्वका रूपमा हेर्ने भनेकाले पनि शिवनारानको परिवार रोपाइँको आनन्दमा मस्त थियो । यत्तिकैमा रोपाईको रमाइलोमा पान सुपारी बाड्ने निहुँमा डाक्टर आफै शिवनारानको रोपाइँमा पुगे । सबैलाई पान सुपारी बाँडि सकेर हिलो खेलेर रमाइरहेका उनको हात समातेर नानीथकुँले गोदत्तलाई हिलोमा खेल्न तानिन् । शिवनारानलाई यो कुरा कत्ति पनि मन परेन । उनले त्यहाँ बहिनीलाई केही नभनी घरमा आएपछि गाली गरे।
परिच्छेद चौबिस
रोपाईंका कारण थाकेकाले शिवनारानका परिवार घरमा आराम गरेर बसेका थिए । लतमायाले नानीथकुँका विवाहको कुरा निकालिन् । अष्टनारानको विहेका बारेमा स्वतन्त्रता दिने विचार भएकाले आफै लोग्ने रोजे हुन्थ्यो भन्ने चाहे पनि तिन सन्तानको बाबु गोदत्त प्रसादलाई रोजेकोमा शिवनारान दुखी भए । लतमायाले सुरमान सुब्बाको कुरा झिके पनि फटाहा सुब्बालाई बहिनी नदिने कुरा शिवनारानले गरे । नानीथकुँको विवाह प्रगतिशील व्यक्तिसँग गरिदिने तर सकेसम्म नानीथकुँले आफ्नो लोग्ने आफै चयन गरोस् भन्ने इच्छा शिवनारानले व्यक्त गरे । यस्तै कुराकानी चल्दै गर्दा राम बहादुर पनि आइ पुगे । राम बहादुरले सुब्बाले शिवनारानको परिवारलाई सहयोग गर्न चाहेको कुरा बताए । शिवनारानले त्यसका लागि धन्यवाद सुनाइदिन भने । राम बहादुरले नानीथकुँको विवाह सुब्बासँग गर्ने कुरा निकाले । कुनै पनि कोणबाट यी दुईका बिचमा विवाह हुन नसक्ने कुरा शिवनारानले बताए । राम बहादुरले सुब्बाको अपमान भएको आरोप लगाए । दुवैका विचमा झगडा पनि भयो । राम बहादुरले शिवनारानलाई धम्की दिएर गए।
परिच्छेद पच्चिस
खेतको सुरक्षाका लागि शिवनारानको परिवार खेतमा नै बसेका थिए । नानीथकुँ र पुननारानकी श्रीमती र दुई केटाकेटी दिनभरि खेतमा काम गरी साँझ घरमा आए । हाँसखेल गरी हाकुमाया र शिवनारानले खेतको सानो छाप्रोमा रात काटे । शिवनारानले हाकुमायालाई जिस्काइ रहेका बेला खेतमा गाई चरेको आवाज आयो । शिवनारानले रिसको झोकमा गाईलाई खुब पिटे । हाकुमायाले समातेर थानामा बुझाउने सल्लाह दिइन् शिवनारानले त्यसै गरे।
परिच्छेद छब्बिस
जेठको महिना भए पनि पानी निकै परेको थियो । पानी परेकाले शिवनारानको परिवारलाई घर भत्किन्छ कि भन्ने चिन्ता थियो । शिवनारान आफ्नो परिवारका साथमा खेतमा बस्दथे । अरू सबै परिवार पुरानै घरमा बसेका थिए । लतमायाले पुननारानलाई यो पालि जिर्ण भएको घर बनाउन भनिन् । आफु निकै बुढी भएकी हुनाले लतमायाले छोरो हर्षनारान र छोरी नानीथकुँको विवाह गरेर मर्न पाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरिन् । यसै समयमा डाक्टर गोदत्त प्रसाद नानीथकुँलाई भगाउन मोटर लिएर आइपुगे । धेरै कुरा बुझेर समालिइ सकेकी नानीथकुँ भाग्न नमानेपछि निराश भएर गोदत्त प्रसाद फर्किए ।
परिच्छेद सत्ताइस
केही दिन अगाडि आफ्नो बिहेको कुरा चल्दा गर्दिन भनेको हर्षनारानले आज लतमायासँग बिहेको कुरा गरे । हर्षनारानको डिल्लीबजारमा डेरा गरेर बस्ने माहिला तामाङको छोरी पुतलीसँग प्रेम गरेको कुरासमेत खुल्यो।अन्तरजातीय विवाहका पक्षधर अष्टनारानको विचार सुहाउने कुरा भएकोले पारिवार पनि उनीहरूको विवाहको लागि राजी भए। नेवार, पर्वते र मधेसी तीन जाति र संस्कृति मिसिएमा नेपाल सुन्दर हुन्छ भन्ने निष्कर्षमा पुगे।
परिच्छेद अट्ठाइस
पुरानो घर भए पनि हर्षनारानको बिहेको कारण शिवनारानको परिवार निकै खुसी भएको छ । धुमधामसँग विवाह गर्ने स्वास्नी मानिसको रायलाई शिवनारानले अस्वीकार गरे । डोलीमा हालेर दुलहीलाई ल्याउनुको सट्टा हिँडाउने कुरा भयो। पुतलीको विवाह हर्षनारानसँग हुन लागेकोमा माहिला तामाङ पनि निकै खुसी भए । माइला तामाङकी छोरीको विवाहले नेवार पर्वते एक हौँ भनी सात सालमा लागेको नारा सार्थक भएको थियो। छोरीलाई केही दिन नसके पनि पन्ध्र रूपिया सापट गरी किनीदिइएको पोसाकमा पुतली निकै राम्री देखिएकी थिई । माहिला तामाङले छोरीलाई कृषि औजार उपहार दिएर विवाह सम्पन्न गरि दिए। शिवनारानले भाइको विवाहमा दश रुपियाँको सामान्य भोज पनि गरे।
परिच्छेद उनन्तिस
अब शिवनारानको सोचाइ नानीथकुँको विवाहमा केन्द्रित भयो । शिवनारान बहिनीको बिहे र व्यवहारबाट हलुङ्गो हुन चाहे । बहिनीका लागि योग्य वर खोज्न थालेको एक हप्तामा कुर्मी जातको म्याट्रिक पास भएको युवक राम खेलावन राउतलाई भेटे । नेवार र मधेसी जातिको समन्वय हुने सोची बहिनीको स्वीकृतिमा उसैसँग विवाह गरिदिए। विवाहमा नेपालीपन झल्कने उपहार पनि दिए । नेवार, पर्वते र मधेसीको एउटै घरमा मेल भएकोमा शिवनारान निकै खुसी भए।
परिच्छेद तिस
यसरी पारिवारिक बोझबाट हलुङ्गो भएका शिवनारान खेतमा नै बस्न थाले । उनले खेती राम्रो बनाउने ऋण तिरेर घर बनाउने कल्पना गर्न थाले । खेती राम्रो भएकोले अलिकति धान बेचेर परिवारलाई नेपाली सिनेमा हेराउने कुरा शिवनारानले गरे । यो कुरा सुनेर परिवार सबै खुसी भए।
परिच्छेद एकतिस
तिन दिनदेखि पानी निरन्तर परिरहेको थियो । अत्यधिक वर्षाका कारण उत्तरतिरको पहाड पहिरो बनेर आउन लागेको शिवनारानले देखे । बाढी आयो, बाढीमा धानका विरूवा, जमिनका ढिस्का सबै बग्दै आएको देखियो। घर, छाप्रा, वस्तुभाउ, मान्छे समेत बाढीमा बगि रहेका थिए । शिवनारानको परिवार पनि आत्तिएको थिए। बच्ने कुनै उपाय थिएन । आफ्नो वरिपरि सबै जलमग्न भएकोमा शिवनारानलाई पोहोरको कुत कसरी तिर्ने चिन्ता परिरह्यो । बाढीले खेत मात्र होइन शिवनारान बसेको छाप्रो समेत बगाउन थाल्यो । बाढीमा बगेका बेलामा पनि शिवनारानले भाइहरूका टाउकामा पोहोरको कुत पनि लादिने भयो भन्ने सोचेका थिए । केही बेरमा उनको प्राण गयो । उता शिवनारानका परिवारहरू पनि पुरानो घर भत्किएर किचिएर मरे । भोलिपल्ट खोलाको छेउमा लासहरू जम्मा भएका थिए । लासका हकवाला मानिस आइ लास खोज्दै बिलौना गरिरहेका थिए । लतमाया, हर्षनारान र पुननारान भत्किएको घरको भग्नावशेषबाट लास तानिएको कारूणिक दृश्य प्रस्तुत गरी उपन्यासको अन्त्य भएको छ । अष्टनारानको परिवारको कुनै नाम निसाना यस धर्तीमा छैन । एघार सालको भयकर बाढीको इतिहासका पानामा पनि उनीहरूको नाम पाइँदैन किनकि उनीहरू गरिब किसान थिए।
एक चिहान उपन्यास गरिब निम्न वर्गीय जीवनका व्यथालाई समेटेर अष्टनारान र शिवनारानको परिवारको घटनालाई आधार बनाइ मूल कथा अगाडि बढेको छ । यही घटनालाई आधार मानी उपन्यासलाई ३१ खण्डमा पुनर्सम्पादन गरिएको छ । उपन्यासका आरम्भ घटना र समाप्ति दुवै दुखद रूपमा भएकाले वातावरण कारुणिक बन्न पुगेको छ । अष्टनारानको बिरामी अवस्था र मृत्यु उपन्यासको आरम्भ घटना हो भने शिवनारानका पारिवारिक समस्या नानीथकुँ र डाक्टरका बिचका सम्बन्ध उपन्यासको मध्य भागका घटना क्रम हुन् । बाढीले शिवनारनको परिवार समाप्ति हुनु उपन्यासको अन्त्य घटना हो । लामा र केही छोटा खालका संवादहरूको वर्णनबाट नै उपन्यासको कथावस्तु निर्माण भएको छ ।
चरित्र चित्रण
एक चिहान उपन्यासमा धेरै पात्रको प्रयोग भएको छ । यस उपन्यासमा आएका पात्रहरूमा अष्टनारान, शिवनारान, पुननारान, हर्षनारान, लतमाया, नानीथकुँ, हाकुमाया, माहिला तामाङ, माहिला तामाङकी छोरी पुतली,डाक्टर गोदत्त प्रसाद, रञ्जना देवी, सुरमान सुब्बा, राम बहादुर, महिलाहरू, कविराज, तुयु गुभाजु, पुञ्चाकी स्वास्नी, राम खेलावन रावत, रोपाइँका खेताला, नोकरहरू, छिमेकी आइमाइ, गुठियारका मानिस आदि रहेका छन् । अष्टनारान, शिवनारान, लतमाया, नानीथकुँ, गोदत्त प्रसाद उपन्यासका प्रमुख पात्र हुन् भने हर्षनारान, सुरमान साहु,रञ्जना देवी, राम बहादुर सहायक पात्रका रूपमा रहेका छन् । अन्य पात्रहरू उपन्यासमा गौण भूमिकामा रहेका छन । प्रस्तुत उपन्यासमा प्रयोग भएका र प्रमुख भूमिकामा रहेका पात्रको चरित्र चित्रण यस प्रकार रहेको छ-
अष्टनारान
अष्टनारान उपन्यासको सुरुमा देखा परेको वृद्ध पात्र हो । तीन छोरा र एक छोरीको बाबुका रूपमा रहेको ऊ लतमायाको लोग्ने हो । सुधारवादी विचार भएको निम्न वर्गीय कृषिजीवी अष्टनारान जीवनप्रति निकै सचेत पात्र हो । आफ्नो उमेर पूरा भएकाले उपचारको कुनै अर्थ नदेख्ने अष्टनारान ऋण गरेर उपचार नगर्न परिवारलाई सुझाव दिने पात्रका रूपमा देखिएको छ । समाजमा रहेका रूढिवादी मान्यता र फजुल खर्चको विरोध गर्ने अष्टनारान सुधारवादी हुनुका साथै विद्रोही व्यक्ति पनि हो । आफ्नो अन्तिम संस्कारका लागि पैसा जोगाई राख्ने, गोदत्त प्रसादको स्वार्थी व्यवहारलाई पहिले नै चिन्ने अष्टनारान दूरदर्शी र व्यवहारिक चरित्रका रूपमा देखिएको छ । परिवारका लागि केही गर्न नसकेकोमा पछुतो मान्ने र दुःखी हुने परिवारप्रति समर्पित पात्रका रूपमा पनि उपन्यासमा उसको चित्रण गरिएको छ । अन्तर्जातीय मान्यतालाई महत्त्व दिने कर्मठ, इमानदार, सहयोगी, विवेकी, परिश्रमी, सुधारवादी र सबैको राम्रो चाहने, सरल स्वभाव भएको अष्टनारान क्रान्तिकारी चारित्रिक प्रवृत्ति भएको निम्न वर्गीय पात्र हो।
शिवनारान
शिवनारान उपन्यासको प्रमुख पात्र हो । यो अष्टनारानको जेठो छोरो हो । उसले निम्न वर्गीय कृषकहरूको प्रतिनिधित्व गर्दछ । पिताको मायाले गर्दा उपचारका क्रममा बाबुको आज्ञा विपरीत लागे पनि बाबुको विचारको पालना गर्ने इमान्दार पात्र हो । शिवनारानलाई भाइ बहिनीको विवाह र अन्य कुरामा पनि फजुल खर्च गर्नु हुन्न भन्ने बाबुको विचारलाई आदर्श बनाएर सोही अनुरूप व्यवहार गर्ने, पारिवारिक सुखसुविधाका लागि परिश्रम र मिहिनेत गर्ने, परिवारको दायित्वलाई बुझर काम गर्ने कर्तव्य परायण, व्यवहार कुशल, अभिभावक व्यक्तित्व भएको पात्रका रूपमा उपन्यासमा चित्रण गरिएको छ । शिवनारान डाक्टर र सुरमान सुब्बाको अत्याचारलाई सहन नसकी आक्रामक हुने, पैसाको तुजुक देखाएर आफ्नी बहिनीको यौन शोषण गर्न खोज्ने डाक्टरको कामुक र स्वार्थीपनको घोर विरोध गर्ने निडर. साहसी र दृढ व्यक्ति हो । शिवनारानले परम्परागत रूढीग्रस्त मान्यताको विरोध गर्छ अस्वस्थ प्रेमलाई अस्वीकार गरी स्वस्थ र आत्मिक प्रेमका पक्षमा विश्वास प्रकट गर्छ, उसले नारीलाई पुरुषको दास बनाउनु हुन्न भन्ने मान्यता राखेको छ । यसले वासनात्मक प्रेमलाई घृणा गर्छ । यिनै विशेषताका आधारमा शिवनारान कर्मशील, विवेकी, प्रगतिवादी, विद्रोही, निडर, बुद्धिमान, असल विचार भएको सबैभन्दा सशक्त र प्रभावशाली पात्रका रूपमा उपन्यासमा देखिएको छ।
नानीथकुँ
नानीथकुँ यस उपन्यासकी प्रमुख नारी पात्र हो । उसको उमेर सत्र वर्षको छ । त्यसैले ऊ यौवनले भरिएकी यौवना हो। उसको स्वरूप गोरो र हिस्सी परेको छ, जसले उसलाई निकै सुन्दर देखाउन मद्दत गरेको छ। शारीरिक रूपमा सुन्दर भएका कारण ऊसँग डाक्टर गोदत्त प्रसाद मात्र नभएर ५८ वर्षे सुरमान साहु पनि लोभिएको छ। यो अशिक्षित असचेत. अल्लारे, चुलबुले निम्न वर्गीय युवतीहरूकी प्रतिनिधि पात्र हो । यो निश्छल स्वाभावकी युवती हो । यसका आँखा खोल्ने काम डाक्टरकी श्रीमती रञ्जना देवीले गरेकी छ । जसले गर्दा यसलाई जीवनको वास्तविकताको बोध भएको छ । अन्त्यमा वासनात्मक प्रेम, अनमेल विवाहलाई अस्वीकार गरी नारी अस्तित्व बोध गरी सचेत र सच्चरित्रका रूपमा बदलिएकी हुनाले नानीथकुँ परिवर्तनशील पात्रका रुपमा चिनिएकी छे । अस्वभाविक सम्बन्धलाई अस्वीकार गरी अन्तर्जातीय विवाह गर्न राजी हुनु यस पात्रको राम्रो पक्ष हो । नानीथकुँ समाजका स्वार्थी र कामुक आँखाले डामिएकी समस्त गरिब नेपाली युवतीहरूको प्रतिनिधित्व गर्न सरल, सोझी खालकी चरित्र हो।
डाक्टर गोदत्त प्रसाद
डाक्टर गोदत्त प्रसाद यस उपन्यासको खलनायक चरित्र हो । गाउँमा नाम चलेको डाक्टर हुनाले यसलाई उपन्यासमा अष्टनारानको उपचारका लागि बोलाइएको छ । सुरुमा नमाने पनि पैसा दिने भएपछि बिरामीको उपचारका लागि राजी हुने स्वार्थी र अमानवीय पात्रका रूपमा उपन्यासमा यसको भूमिका रहेको छ। बिरामीको घरमा सुन्दरी युवतीलाई देखेर उसको कुमारीत्व लुट्न चाहने धुर्त. स्वार्थी, कामुक, अनैतिक र भ्रष्ट स्वभाव भएको पात्रका रूपमा यसलाई चित्रण गरिएको छ । घरमा शिक्षित श्रीमती हुँदाहुँदै गरिब अबोध युवतीको जीवन बरबाद गर्न चाहने गोदत्त प्रसाद पाशविक र भष्ट चरित्र हो। पैसालाई महत्त्व दिने, सेवाभाव भन्दा पैसा ठुलो देख्ने, हाँसी हाँसी आफ्नो कर्तुतलाई छोप्न खोज्ने पापी, दयाहीन, दुष्ट र कामुक चरित्रका रूपमा गोदत्त प्रसादलाई देखाइएको छ । यसले समाजका खराब चरित्रको प्रतिनिधित्व गर्दछ ।
रञ्जना देवी
रञ्जना देवी उपन्यासको अन्त्य खण्डमा देखिएर उल्लेखनीय काम गर्ने सहायक पात्र हो । प्रोफेसरकी छोरी र डाक्टरको श्रीमतीका रूपमा देखिएकी रञ्जना देवी शिक्षित. बोलक्कड, निडर र चतुर नारी पात्र हो । डाक्टर गोदत्त प्रसादको वासनात्मक प्रेममा परेर अन्धी भएकी नानीथकुँलाई सम्झाई समयमै सचेत बनाएर रञ्जना देवीले उल्लेख्य काम गरेकी छे। प्रेमलाई स्वस्थ र सुहाउँदो बनाउन पर्छ नारी र पुरुष बिच मेलमिलाप र समन्वयपुर्ण सम्बन्ध रहनु पर्छ, नारी पुरुषहरूका भोग्या हुन हुँदैन भन्ने नारी अस्तित्वका कुरा गर्ने रञ्जना देवी उपन्यासकारकी मुख पात्र हो। लोग्नेको दुर्बलता र असचेतताले समस्या ल्याउन सक्छ भन्ने कुरालाई समयमै सोच्ने र त्यसलाई रोक्न सफल भएकी रञ्जना देवी दूरदर्शी पात्र हो । लोग्नेसँग निडर रूपमा बाल्ने र प्रतिकार गर्न सक्ने भएकाले पनि रञ्जना देवी निर्भिक चरित्र हो भन्ने कुरा पुष्टि हुन्छ ।
अन्य पात्र
यस उपन्यासका सुरमान साहु र राम बहादुर सहायक नकारात्क विचार भएका स्वार्थी र धनको तुजुक देखाउने आडम्बरी खालका पात्र हुन् । यिनीहरूको विचारमा पवित्रता रहेको छैन । यस्तै उपन्यासका अन्य पात्रहरू केही सहायक र केही गौण भूमिकामा रहेका छन् । तिनीहरु समाजका गरिब,निम्न वर्गीय,सोझा, निमुखा व्यक्तिहरूको प्रतिनिधित्व गर्दछन् ।
परिवेश/सामाजिकता
परिवेशले स्थान, समय र अवस्थालाई मूल रूपमा समेटिएको हुन्छ । ‘एक चिहान’ उपन्यासले वि.सं. २०११/१२ सालतिरको काठमाडौंको निम्न वर्गीय सामाजिक यथार्थलाई समेटेको छ । गरिबहरूका जीवनका अभाव र पीडालाई देखाउँदै उपन्यासले तात्कालीन नेपाली समाजको सजीव चित्रलाई सबैका सामुमा प्रस्तुत गरेको छ । सामाजिक रुढिले भरिएको, अभावले औषधी उपचार गर्न नसकेको तर यसै बिचमा परिवर्तनको मोडमा पुगेको अष्टनारानको पारिवारिक चित्र उपन्यासले निर्माण गरेको छ । चाडपर्वमा फजुल खर्च गर्ने बानीको विरोध थालिएको छ । समाजमा स्वार्थी प्रवृति भएका मानिसहरुले आफ्नो स्वार्थ पुरा गर्दै छन् । शोषण र दमनको पनि विरोध हुन थालेको छ । अन्तजातीय विवाहलाई मान्यता दिने अभियान सुरु भएको छ भने रातदिन काम गर्दा पनि खान नपुग्ने अवस्था विद्यमान नै छ । सोझा नारी शोषणको सिकार भएको अवस्था पनि छ । अन्यायको विरोधमा धम्कीको सामना गर्नु पर्ने अवस्था रहिरहेको छ । एकातिर समाज पछौटेपनले जकडिएको छ भने अर्कोतर्फ परिवर्तनको संघारमा समाजले पाइला चालेको सङ्क्रमणशील अवस्थाको चित्रण सजीव रूपमा उपन्यासमा गरिएको छ । समाज रचनाको वर्गीय स्वरूपलाई देखाई शोषक र शोषित समुदायलाई उपन्यासले आफ्नो परिवेशका रूपमा समेटेको छ। अभावग्रस्त, गरिबीग्रस्त, शोषणपूर्ण, विद्रोह र जागरणमुखी सहरी निम्न वर्गीय सामाजिकतालाई समेटेको हुनाले उपन्यासको परिवेश सजीव र यथार्थ बनेको छ।
उद्देश्य मूलभाव/ विचार
यस उपन्यासको मूल उद्देश्य समाज परिवर्तन गर्नु हो। पात्रका सम्पुर्ण क्रियाकलापबाट उपन्यासलाई विचार प्रधान बनाइएको छ । परम्परागत मूल्य र मान्यतालाई समयानुकुल परिवर्तन नगरेसम्म समाज परिवर्तन सम्भव छैन भन्ने विश्वास उपन्यासले गरेको छ । उपन्यासमा अन्धविश्वासी, तडक भडकपुर्ण र अरूसँग ऋण लिने, चाडबाड मनाउन फजुल खचे गने मानसिकताको विरोध पाइन्छ । गरिबहरूले जीवनभरि काम गर्दा पनि जीवनमा खुसी ल्याउन सक्दैनन् र सबैको घर बनाउने कर्मी पनि आफ्नै घरको मर्मत गर्न नसकेर कसरी त्यसैमा पुरिएर मर्छन् भन्ने दुखलाग्दो अवस्थालाई देखाउनु पनि उपन्यासको उद्देश्य बनेको छ । समाजमा चेतनाको स्तर नउठेसम्म समाजको विकास हुँदैन, नारी अस्मिताको रक्षा र चेतनाको विकास हुन जरूरी छ । हर्षनारान र पुतली अनि नानीथकु र राम खेलवान बिचको वैवाहिक सम्बन्धले अन्तर्जातीय सम्मिश्रणलाई मान्यता दिई साम्प्रदायिक सद्भावको विकासमा जोड दिइएको छ । जातीय मिलन र सद्भावबाट नै नेपालको विकास हुने कुरामा उपन्यासकारको विश्वास रहेको छ । समाजमा स्वस्थ र अमर प्रेम हुनु पर्छ, जातीय सद्भाव र साम्प्रदायिक सद्भाव रहनुपर्छ भन्ने सन्देश उपन्यासले दिएको छ । रूढीवादी कुराको विरोध र जातीय एकताको समर्थन गर्नु यसको उद्देश्य बनेको छ । यसरी उपन्यासले समाजमा रहेको अन्याय अत्याचार शोषण दमनको विरोध गरी गरिबीपुर्ण जीवनको कारूणिकतालाई देखाउदैँ जातीय एकताको महिमा गाई समाज परिवर्तनको अपेक्षा गरेको छ । उपन्यासको मूलभाव वा उद्देश्यलाई बुँदागत रूपमा यसरी देखाउन सकिन्छ-
भाषाशैली : शिल्प
भाषा अभिव्यक्तिको माध्यम हो भने शैली प्रस्तुतिको तरिका हो । ‘एक चिहान’ उपन्यासको भाषा सरल भएर पनि परिष्कारपुर्ण रहेको छ । पात्रको स्तरभन्दा केही माथिल्लो तहको भाषा प्रयोग – नेवारी समुदायमा प्रचलित केही शब्दको प्रयोगले शब्दबोधमा सामान्य कठिनाई हुन्छ । कतै उखान, कतै टुक्का, कतै विम्ब र प्रतीकहरूको प्रयोगले उपन्यासको भाषालाई आलङ्कारिक तथा कलात्मक बनाउने चेष्टा गरिएको भए पनि यस्ता उखान, टुक्का, बिम्ब प्रतीकले भाषालाई स्वाभाविक बनाउन भने सकेका छैनन् । घटनाहरूको वर्णनमा वर्णनात्मक शैली, पात्रका बिचमा कुरा गराई संवादात्मक शैली र उपन्यासकारले आफ्नो टिप्पणी प्रस्तुत गर्दा व्याख्यात्मक शैलीको उपयोग पनि उपन्यासमा गरिएको छ । यो उपन्यासका प्रस्तोताले अष्टनारानका परिवारको समग्र कथालाई यथार्थ रूपमा प्रस्तुत गरेको हुनाले उपन्यास तृतीय पुरुष दृष्टिविन्दुमा तयार भएको छ । प्रस्तुत उपन्यासमा उपन्यासको प्रस्तोता/समाख्याताको दृष्टिकोणबाट अष्टनारानको परिवारलाई हेरिएको छ । उपन्यासमा एक पछि अर्को गर्दै घटनाको प्रस्तुति भएकाले उपन्यास घटना प्रधान शिल्प पद्धतिमा रचना भएको छ।
शीर्षक चयन र शीर्षक सार्थकता
‘एक’ विशेषण शब्द र ‘चिहान’ नाम शब्दलाई मिलाएर उपन्यासको शीर्षक चयन गरिएको छ । यसले उपन्यासको विषयलाई समेटेको छ । यस उपन्यासले गरिब परिवारको कारुणिक कथालाई यथार्थ रूपमा समेटेको छ । गरिबीका कारण अष्टनारानको परिवार औषधी गर्न, चाड मनाउन, अन्त्येष्टि गर्न ऋण लिन बाध्य भएको छ। ज्यादै पुरानो घरको मर्मत गर्न नसक्ने पनि गरिबीकै कारण हो । उपन्यासका आरम्भ पनि दुखद वातावरण बाट भएको छ भने उपन्यासको विकास र अन्त्य पनि कारूणिकतामा नै अगाडि बढेको छ । उपन्यासलाई कारुणिकतातर्फ लैजानका लागि बाढी आएर अष्टनारानका परिवारको दुःखद अन्त्य भएको सन्दर्भ जोडिएको छ । उपन्यासको अन्त्यमा अष्टनारानका सम्पूर्ण परिवारको मृत्यु, लगातार रूपमा भएको वर्षाका कारण विष्णुमती किनारको खेतमा पसेको बाढीले बगाएर भएको छ। शिवनारान, हाकुमाया र छोराछोरी बाढीले खेतको छाप्रो बगाएर पानीमा बगी एक चिहान भएका छन् भने बाँकी परिवार कमजोर घर भत्किदाँ त्यस भित्र पुरिएर मृत्युको मुखमा पुगेका छन् । यसरी उपन्यासको प्रमुख भुमिकामा रहेका सम्पूर्ण सहभागीलाई एक स्थानमा समाप्त भएको मार्मिक तथ्यलाई देखाएर उपन्यासको विषयसँग शीर्षकलाई सामञ्जस्यपूर्ण बनाइएकोले उपन्यासको शीर्षक चयन उपयोगी र औचित्यपूर्ण बन्न पुगेको छ।
एक चिहान उपन्यासका मूल विशेषताहरू